थप समाचारमंगलबार, मंसिर ११, २०७०
एमाओवादीका निर्वाचितले पनि फूलमाला लगाउने
राजधानीमा १० मंसीरमा बसेको बैठकले विजयी उम्मेदवारहरु क्षेत्रमा नजाँदा मतदाताहरु चिढिने र हतोत्साही हुने भन्दै उम्मेदवारहरुलाई आ–आफ्ना क्षेत्रमा पठाउने निर्णय गरेको छ ।
अन्य दलका विजयी उम्मेदवारहरुले देशभर नै विजय जुलुश निकालेर हर्ष बढाइँ गरिरहेका बेला एमाओवादीका उम्मेदवारहरु राजधानीमा थुप्रिएपछि गलत सन्देश जाने एमाओवादीले ठहर गरेको छ ।
यसअघि मतगणना जारी नै रहेका बेला आफ्नो पराजय हुने देखेपछि एमाओवादी केन्द्रीय कार्यालयले ९ मंसीर राति विज्ञप्ति निकालेर आफ्ना सबै उम्मेदवार र प्रतिनिधिलाई मतगणना बहिस्कार गर्न निर्देशन दिएको थियो । त्यसपछि सबै उम्मेदवारहरु काठमाडौंमै सोहोरिएका छन् ।
समिति गठन
त्यसैगरी संविधानसभा चुनावमा धाँधली भएरनभएको विषयमा छानविन गर्न एमाओवादीले वर्षमान पुनको संयोजकत्वमा समिति गठन गरेको छ ।
सात सदस्यीय छानविन समितिमा नेताहरु रामचन्द्र झा, खिमलाल देवकोटा, रामनारायण बिडारी र जनकराज जोशीलगायत सदस्य छन् । समितिले ९ पुसमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।
एमाओवादीका शर्त
यसैबीच एमाओवादीले संविधान संशोधन गरेर सहमतीय सरकार गठनको बाटो खोले मात्रै संविधानसभामा सहभागी हुने बताएको छ ।
त्यसैगरी उसले धाँधली भएको भनेका क्षेत्रहरुमा छानविनका लागि उच्चस्तीरय आगोग गठन गर्न पनि एमाओवादी लगायत निर्वाचनमा ठूलो पराजय भोगेका दलहरुले माग गरेका छन् ।
अन्तरिम संविधान संशोधन गरी संविधानसभा बहिस्कार गरेका दलहरुलाई पनि समेट्ने गरी सहमतीय सरकार गठनको व्यवस्था हुनुपर्ने प्रस्ताव एमाओवादीले अघि सारेको हो ।
‘असहज माग’
४ मंसीरमा सम्पन्न संविधानसभाको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै छानबिन गर्न एओवादीले राखेको माग असहज भएको प्रमुख दलका नेताहरुले प्रतिक्रिया दिएका छन्।
एमाओवादी सहित १० साना दलहरुले संविधानसभाको निर्वाचन अविश्वसनिय, अस्वाभाविक, नियोजित र धाँधलीपूर्ण भएको भन्दै सोमबार उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेका थिए।
नेपाली कांग्रेसका नेता रामशरण महतले भने यस्तो माग हास्यास्पद भएको प्रतिक्रिया दिएका छन्।
उनले भने, “धाँधलीकै कुरा गर्ने हो भने मेरो निर्वाचन क्षेत्रमा बुथ कब्जा समेत भयो। त्यो मामलामा अरुभन्दा एमाओवादी नै अगाडी छ। त्यसैले उहाँहरुको माग हास्यास्पद छ।”
त्यस्तै उच्चस्तरीय छानबिन आयोग गठनको माग अस्वाभाविक भउको नेकपा एमालेका नेता प्रदिप ज्ञवाली बताउँछन् ।
उनले भने, ‘केही अनियमितता भएको भए त्यसलाई सल्टाउन संविधानसभा निर्वाचनको निम्ति छुट्टै अदालत पनि स्थापना भइसकेको छ। त्यसैले छुट्टै छानबिन आयोग आवश्यक पर्छ भन्ने हामीलाई लाग्दैन।’
दाहालको घोषणामा संशोधन
मतगणना रोकेर पुनरावलोकन नगरे संविधानसभामा नजाने अध्यक्ष पुष्पकमल दाहालको घोषणामा एमाओवादी बैठकले आंशिक संशोधन गरेको छ।
एमाओवादी प्रवक्ता अग्नि सापकोटाले अन्तरिम संविधानमा संशोधन गरी सहमतीय प्रणाली स्थापित गर्नुपर्ने बताए ।
नेता पोष्टबहादुर बोगटीले संविधानसभा र शान्ति प्रक्रियाबाट आफूहरु बाहिर नजाने तर, आन्दोलनको भावना सम्बोधन गर्ने गरी सबै पक्षको सहमतिमा संविधान निर्माण गर्नु पर्ने उनको भनाई छ ।
अन्तिम चरणमा पुग्न लागेको मतगणनाले एमाओवादी बाहेक पनि संविधानसभामा दुई तिहाई बहुमत पुग्न सक्ने देखाएको छ।
