थप समाचारमंगलबार, मंसिर ११, २०७०

हङकङमा कामै काम

हिमालखबर

– डम्बरकृष्ण श्रेष्ठ, हङकङमा

हङकङ–जुहाई–मकाउ जोड्ने समुन्द्रमाथि ४२ किलोमिटर निर्माणाधीन पुलमध्ये हाल ९.७ किलोमिटरको जग हाल्ने काममा व्यस्त नेपाली।

हङकङको निर्माण क्षेत्रमा मजदूर अभावसँगै १० वर्षमा १५० प्रतिशत तलब बढेको छ। पहिले मासिक ९/१० हजार हङकङ डलर थाप्ने नेपाली अहिले कम्तीमा २० हजार हङकङ डलर (नेरु.२ लाख ६० हजार) बुझिरहेका छन्। गोर्खा एकता इन्टरनेशनल कम्पनी मार्फत कामदार आपूर्ति गरिरहेका त्रिलोक गुरुङ हङकङका करीब ३० हजार नेपालीमध्ये १० हजार निर्माण क्षेत्रमा रहेको बताउँछन्। बाँकी नेपाली सेक्युरिटी, होटल, बार–रेस्टुरेन्ट र निजी व्यवसायमा छन्। अफिस वर्कदेखि सरसफाइसम्मका क्षेत्रमा नेपाली महिला कामदारको संख्या पनि बढ्दो छ।

अहिले हङकङमा सांघाई (चीन) जोड्ने भूमिगत रेल्वे, मकाउ जोड्ने पुल र ठूला आवास क्षेत्रहरूसँगै आन्तरिक रेल्वे र विमानस्थल निर्माण तथा विस्तारको काम धमाधम भइरहेका छन्। चेप लाप कक विमानस्थल, दर्जनौं सुरुङ, भूमिगत रेलमार्ग, चिङमा र तिनकाउ पुल निर्माणताका कमाएको विश्वसनीयताले नेपाली कामदारलाई हङकङका परियोजनाहरूमा रोजाइको श्रमशक्ति बनाएको छ। पहिले मजदूरीमा सीमित नेपालीहरू अहिले मशीन अपरेटरदेखि इन्जिनियर र व्यवस्थापकसम्म छन्। गोर्खा इन्टरनेशनलका गुरुङ भन्छन्, “नेपालीहरूले पूर्वी यूरोप, अफ्रिका, श्रीलंका र पाकिस्तानका जनशक्तिलाई विस्थापन गरिरहेका छन्।”

गर्नेलाई पैसै पैसा

सेङवान–केनेडी टाउन मेट्रो ट्रेन विस्तार परियोजनामा सुपरभाइजर रहेका भुवन लिङदेन र अन्य नेपाली कामदार।

एकपछि अर्को नयाँ परियोजना र भविष्यका कतिपय संरचना अहिल्यै तयार गर्ने कार्यक्रमका कारण हङकङमा सन् २०२० सम्म कामको कुनै कमी हुने छैन। हालै भारत, फिलिपिन्स र थाइल्याण्डबाट तीन हजार कामदार ल्याइए पनि हङकङमा श्रम शक्ति अपुग छ। गैर–आवासीय नेपाली संघ (एनआरएन) को एशिया–प्रशान्त क्षेत्र पूर्व संयोजक समेत रहेका गुरुङ भन्छन्, “नेपाल सरकारले भने हङकङको श्रम बजारलाई ध्यानै दिएको छैन।”

हङकङमा इन्जिनियर, ओभर सियर, हेभी इक्युपमेन्ट अपरेटर र अन्य विषयका अर्धदक्ष कामदारको ठूलो माग रहेको बताउने नेपाली महावाणिज्यदूत महेश दाहाल नेपालीमाथिको भीसा प्रतिबन्ध फुकुवा र कोरिया जस्तै इपीएस प्रणालीमा कामदार पठाउन काठमाडौंबाटै प्रभावकारी पहल भए नेपालीका लागि हङकङ महत्वपूर्ण गन्तव्य हुने बताउँछन्।

हुन पनि, हङकङबाट बेलायत पुगेका थुप्रै नेपाली अहिले यतै फर्केका छन्। बेलायतमा ‘सेक्युरिटी गार्ड’ को जागीर छाडेर फर्केका सुनसरीका भुवन लिङदेन (३५) अहिले सेङवान–केनेडी टाउन मेट्रो ट्रेन विस्तार परियोजनामा सुपरभाइजर छन्। उनी भन्छन्, “यहाँ नेपालीले मासिक २५ हजारदेखि ९० हजार डलरसम्म कमाइरहेका छन्।”

२००० कामदार रहेको सेङवान–केनेडी टाउन मेट्रो परियोजनामा ३०० नेपाली छन्। यसमा केबी लिम्बू, मणि राई र नन्द राई पनि मासिक नेरु.६ लाख बुझने लिङदेन जस्तै सुपरभाइजर हुन्। हङकङ–जुहाई–मकाउ जोड्ने ४२ किमिको निर्माणाधीन पुलमा अहिले २५० नेपाली सामान्य कामदारदेखि सुपरभाइजरसम्म छन्।

चाईना लाइट कम्पनीमा कार्यारत नेपाली कामदार । तस्बीर:जगत अम्बु

वेल्डरको काम गरिरहेका मातृदीप राईका अनुसार यो परियोजनामा नेपालीहरूले मासिक न्यूनतम २० हजारदेखि ४५ हजार हङकङ डलरसम्म कमाइरहेका छन्। ब्रिटिश कम्पनी ग्यामनको सुरुङ परियोजनामा कार्यरत धरानका मोहन लिम्बू मासिक साढे तीन लाख रुपैयाँ कमाउँछन्। नेपालीलाई कानूनी परामर्श दिने एक्युट कन्सल्टेन्सीका इन्द्र वनेम अहिले काम गर्न सक्नेलाई हङकङमा पैसै पैसा भएको बताउँछन्। उनका भनाइमा, १० वर्ष अगाडि प्रति दिन ३०० हङकङ डलर (रु.३ हजार) कमाउने नेपालीहरू अहिले दैनिक १५०० डलर (रु.१३ देखि २० हजार) थाप्छन्। ६ वर्षदेखि चाइना लाइट पावरमा कार्यरत मणि याख्खाले अहिले उति नै काम गर्दा तेब्बर तलब हुने बताए।

हङकङमा महीना मरेको ७ दिनमा तलब पाइन्छ। मशीनरीका साथ कडा परिश्रम गर्दा नेपाली कामदारहरू दुर्घटनामा पनि पर्ने गरेका छन्। कामतिनमा एक्सप्रेस रेल्वेको सुरुङमा कार्यरत युवराज गुरुङ (३७) को दुई महीना अघि दुर्घटनामा मृत्यु भएको थियो। गुरुङका परिवारले किरिया खर्च बापत तत्काल रु.१ करोड र बीमा बापत ४० लाख हङकङ डलर (करीब रु.५ करोड) पाएको गोर्खा एकताका त्रिलोक गुरुङले बताए।

खाँचो नेपाली पहलको

कठोर काम, न्यून तलब त्यसमाथि दलालले ठगी गर्ने खाडी वा मलेशियाको तुलनामा हङकङ–मकाउ नेपाली कामदारका लागि वैदेशिक रोजगारीको राम्रो गन्तव्य बन्न सक्छ। नेपाल सरकारले पहल गरे कोरिया जस्तै कामदार पठाउन सक्ने अवस्था पनि छ। तर, सरकारले २३ जेठ २०६२ देखि हङकङ अध्यागमन विभागले रोकेको नेपाली कामदार र विद्यार्थी प्रवेशाज्ञा (भीसा) फुकुवाको पहल समेत गरेको छैन, चार वर्षअघि काठमाडौं आएका चिनियाँ परराष्ट्रमन्त्री याङ जेइचीको ध्यानाकर्षण गरेको बाहेक। याङ जेइचीले यसबारे सकारात्मक धारणा व्यक्त गरेका थिए।

भीसा नपाउँदा नयाँ त नयाँ भइहाले, काम गरिरहेका नेपालीको समेत रोजगारी खोसिएको छ। भीसा प्रतिबन्ध नहुँदा हङकङमा दुई हजार नेपाली महिलाले घरेलु कामदारको रोजगारी पाएकामा अहिले मुश्किलले ५०० जति रहेको नेपाली घरेलु कामदार यूनियनकी पूर्व अध्यक्ष माया राई बताउँछिन्। भीसा बन्द नभएको भए यो संख्या ५० हजारभन्दा बढी हुने बताउने माया राईका अनुसार, नेपाली कामदार प्रतिबन्धित भएको फाइदा फिलिपिन्स र इन्डोनेशियाले लिएको छ।

अहिले हङकङमा करीब तीन लाख फिलिपिना र इन्डोनेशियन महिला कामदार छन्। फिलिपिन्स सरकारले २०१६ पछि घरेलु कामदार आपूर्ति नगर्ने बताइसकेको छ भने इन्डोनेशियाका इस्लाम धर्मावलम्बी कामदार र हङकङका चिनियाँ रोजगारदाताबीच घूलमिलको समस्या छ, जबकि नेपाली महिला कामदार जहिल्यै पहिलो रोजाइमा थिए।

रोजगारी तथा अध्ययन भीसामा लगाइएको प्रतिबन्धलाई नेपाल सरकारको कूटनीतिक असफलता र हङकङको भेदभावपूर्ण निर्णय भन्दै हङकङ नेपाली महासंघ, चेम्बर अफ कमर्स, नेपाली घरेलु मजदूर यूनियन,प्रवासी नेपाली मजदूर संघ हङकङ, नेपाली वर्कर्स युनियन, फियोना लगायतका संघसंस्थाले नेपाली महावाणिज्य दूतावास मार्फत हङकङका कार्यकारी प्रमुख डोनाल्ड चाङलाई समेत ज्ञापनपत्र बुझाइसकेका छन्। तर, आफूले कार्यभार सम्हालेयता भीसा खुलाउने पहलमै ध्यान केन्द्रित गरेको दाबी गर्ने महावाणिज्यदूत दाहाल यसबारे हङकङका उच्च अधिकारीहरूले अनभिज्ञता प्रकट गरेको बताउँछन्।

नेपालमा माओवादी हिंसा चर्केपछि वैदेशिक रोजगारीका दलालबाट ठगिएका नेपालीहरूले आफूलाई शरणार्थी दाबी गरेर बस्ने थलोका रूपमा हङकङलाई रोजेपछि यहाँ अध्ययनले ढोका बन्द गरेको थियो। अध्यागमनको नीतिले स्थायी र आश्रित (डिपेन्डेन्ट) भीसामा हङकङ बसेकाहरूलाई भने कुनै असर पारेको छैन।
________________________________________

टीभीएम पाइलट झमबहादुर गुरुङ।

दक्ष प्राविधिक नेपाली
हङकङको निर्माण क्षेत्रमा अत्याधुनिक टीबीएम (टनेल बोरिङ मशीन) पाइलटदेखि इरेक्टर, अपरेटर, सुपरभाइजर र इन्जिनियरसम्म छन्, नेपाली। डेढ दशकअघि सुरुङमा मजदूरी थालेका पर्वतका झ्ामबहादुर गुरुङ अहिले टीबीएम पाइलट छन्। जापानी कम्पनी पेन्टा ओशियनमा कार्यरत उनी जमीनमुनि सुरुङ खन्ने मशीन चलाउँछन्। पहिला यी काम बेलायती र अष्ट्रेलियनहरूले गर्थे। मासिक ७० हजार डलर (नेरु. ८ लाख ५० हजार) तलब बुझ्ने गुरुङले काठमाडौंमा घरजग्गासँगै हङकङमा ४० लाख डलर (रु. ५ करोड ५० लाख बराबर) को अपार्टमेन्ट किन्न लागेको बताए।

शहरमुनि सुरुङ खन्ने पेन्टामा गुरुङ सहित ११० जना नेपाली कामदार छन्। हङकङको निर्माण क्षेत्रमा राजेन्द्र गुरुङ, विजय गुरुङ, राजन गुरुङ, बुद्ध गुरुङ, कमल थापा लगायत १५ जना जति टनेल इन्जिनियर छन् भने कृष्ण राजभण्डारी निर्माण व्यवस्थापक र लक्ष्मी लिम्बू मेकानिकल सुपरीटेन्डेन्ट छन्। अशोक केसी, नरबहादुर थकाली, युद्धशमशेर मल्ल, श्री थापा लगायतका टीबीएम पाइलट छन् भने दुई दर्जन नेपाली सुरुङभित्र मिनी रेल चलाउँछन्। सुपरभाइजरका रूपमा कार्यरत नेपाली पनि थुप्रै छन्।
________________________________________
हङकङमा नेपाली

सेङवान–केनेडी टाउन मेट्रो ट्रेन विस्तार परियोजनामा कार्यारत नेपाली कामदार ।

सन् १८४१ देखि १९९७ सम्म बेलायतको अधीनमा रहेको हङकङमा १९९७ पछि नेपालीको बसोबास बढेको हो। अहिले चीनको विशेष प्रशासनिक क्षेत्र रहेको हङकङमा १९८३ अघि जन्मिएका नेपालीहरूले स्थायी नागरिकको हैसियत पाउने भएपछि भूपू ब्रिटिश–गोर्खाका धेरै सन्तान यहाँ फर्किए। त्यसअघिसम्म हङकङमा गोर्खा सैनिक र नेपाली व्यापारीहरूको मात्र आउजाउ हुन्थ्यो।

हङकङमा अहिले नेपालीहरूले आफूलाई सामान्य कामदारदेखि सफल व्यवसायीसम्म बनाएका छन्। यहाँ पाँच दर्जन नेपाली संघ–संस्था खुलेका छन्। यहाँका नेपालीहरूले शिक्षा, कला–साहित्य, खेलकुद लगायतका क्षेत्रमा पनि छुट्टै पहिचान बनाउँदै लगेका छन्। अर्काको कम्पनी, होटल र रेस्टुरेन्टहरूमा कामदार बनेका नेपालीहरू अहिले आफैं सफल व्यवसायी छन्। ब्रिटिश पासपोर्ट पाउनेहरू बेलायत गएकाले नेपालीको जनसंख्या केही घटेको हङकङमा करीब ३०० जना नेपाली ‘शरणार्थी’ दाबी गरेर बसेका छन्।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>