समाचारमंगलबार, साउन २, २०६९
कोइराला जीवित नभएकाले शान्ति र संविधान अपुरो– दाहाल
काठमाडौंमा २ साउनदेखि सुरु भएको एमाओवादीको सातौँ विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष दाहालले संसद्वादी शक्तिका कारण शान्ति र नयाँ संविधान निर्माण पूरा हुन नसकेको बताउँदै संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने “कोइराला जीवितै रहनुभएको भए अहिलेसम्ममा शान्ति र संविधानको काम पूरा हुने थियो ।”
त्यसैगरी दाहालले पार्टीभित्र देखिएको गुट तथा उपगुट अन्त्य गर्ने अभियान सुरु भएको र त्यो आफुबाटै सुरु भएको बताएकाछन् । उनले सातौँ विस्तारित बैठकबाटै गुट अन्त्य भएर पार्टी नयाँ आधारमा एकताबद्ध भएर जाने बताउँदै भने “ पार्टी नेतृत्व हुनाको नाताले यो अभियान अध्यक्षबाटै सुरु हुनेछ ।” पार्टीभित्र देखिएको फुटले केही शक्तिलाई फाइदा भए पनि नेपाली जनतालाई भने दुःखी बनाएको उल्लेख गर्दै उनले पार्टी फुटको औचित्य पुष्टि गर्न नयाँ पार्टी निर्माण गर्ने मोहन वैद्यलाई चुनौती दिए । उनको भनाई थियो “शान्ति र संविधान निर्माणको प्रक्रिया पूरा नभएको बेला वैद्यजीहरुले पार्टी फुटाएर भयानक कमजोरी गर्नुभएको छ ।”
वैद्य पक्षले विचार र कार्यदिशामा कुनै फरक नभए पनि पार्टी फुटाएर नेपाली जनता, सहिद तथा घाइते योद्धाको भावना र चाहनामाथि गम्भीर धोका दिएको आरोप उनको थियो । बैद्य पक्ष अन्ततः बाध्य भएर पार्टी एकतामा आउने र इतिहासले बाध्य पार्ने दाहालको दाबी थियो ।
पार्टी उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले पनि चालु बैठकबाट पार्टीभित्रका गुट उपगुटको अन्त्य गरिने उद्घोष गरे । उनले पार्टी अध्यक्षको वरिपरि रहेको नेतृत्वको समूह कुनै पनि हालतमा नफुट्ने र अझ एकताबद्ध भएर जानेमा कार्यकर्ता पङ्क्तिलाई विश्वस्त हुन आग्रह गरेका थिए । २ साउनबाट सुरु भएको विस्तारित बैठकमा देशभरका पाँच हजारभन्दा बढी राज्य समितिस्तरका कार्यकर्ताको सहभागिता छ ।
