समाचारबुधबार, मंसिर १२, २०७०
नयाँ सरकारको नेतृत्वमा कांग्रेसको दाबी
सरकार निर्माणमा आफ्नो दाबीलाई प्रस्तुत गर्दै नेपाली कांग्रेसले अरु दलहरुसँग छलफल चलाउने भएको छ ।
पहिलो प्राथमिकता आफ्नो नेतृत्वमा सहमतीय सरकारको निर्माणमा दिने तर, कुरा नमिले संविधान बमोजिम बहुमतीय सरकारको पक्षमा काग्रेस उभिने नेपाली कांग्रेसका नेता रामशरण महतले बताए । उनले भने, “पहिलो शक्ति भएको हुँदा सरकार निर्माणमा कांग्रेसको दाबी रहन्छ, सकेसम्म सहमतीय सरकारको पक्षमा छौं, त्यो नभए संविधान अनुसार बहुमतीय सरकार बन्छ ।”
अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको कांग्रेसले यसपटक २४० निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १०५ स्थान जितेर पहिलो स्थानमा छ भने नेकपा एमाले ९१ स्थान जितेर दोस्रो र एमाओवादी २६ स्थान जितेर तेस्रो पार्टी भएको छ । समानुपातिकतर्फ पनि जारी मतगणनामा हालसम्म प्राप्त परिणाम अनुसार काँग्रेसको अग्रता कायमै छ ।
समानुपातिकको नतिजामा पनि सबैभन्दा बढी मत पाएर पहिलो पार्टी बन्ने सुनिश्चिततातर्फ उन्मुख भएपछि काँग्रेसले सरकार गठन लगायतका विषयमा नेकपा एमालेलगायत अन्य दलसँग यसबारेमा छलफल चलाउने भएको हो ।
पूर्ण नतिजा आएलगत्तै सरकार निर्माणको कामलाई तिव्रता दिने काँग्रेसले जनाएको छ । “समानुपातिकतर्फको मतगणतना पर्खेका छौं, अहिले प्रारम्भिक रुपमा सरकार निर्माणको कुरा अघि बढाउने हो,”–महतले भने ।
जनादेश आफ्नो पक्षमा आएकाले उत्साहित बनेको काँग्रेसले निर्वाचन, सरकार गठन र एमाओवादीले निर्वाचनको बारेमा उठाएका प्रश्नलाई लिएर पार्टीभित्र छलफल चलाउँदैछ । आन्तरिक बैठकपछि पार्टीको रणनीति तय हुने र त्यसका आधारमा अघि बढ्ने निक्र्यौलमा काँग्रेस पुगेको छ ।
अर्कातिर प्रत्यक्षतर्फ काँग्रेसभन्दा केवल १४ स्थानले मात्र पछि रहेको तथा समानुपातिकतर्फ पनि काँग्रेसलाई पछ्याइरहेको नेकपा एमालेले पनि सरकार निर्माणमा आफ्नो भूमिका महत्वपूर्ण रुपमा उठाउने देखिएको छ ।
खासगरी दलहरुबीच पहिलो प्रयास भने सहमतीय सरकार बनाउनेमा केन्द्रीत रहने देखिएको छ जसमा कांग्रेस र एमालेको अगुवाइ हुनेछ । निर्वाचनमा महत्वपूर्ण मत प्राप्त गरेपछि एमालेले पनि आफ्नो भूमिका महत्वपूर्ण रहने दावी सहित आलोपालो प्रणालीमा सरकार गठन गरी सञ्चालन गर्ने चर्चा पनि चलेको छ ।
तर कांग्रेस केन्द्रीय सदस्य डा. महतले भने यसमा अहिल्यै प्रतिक्रिया नजनाउने बताउँदै काँग्रेस सहमति र आफ्नो नेतृत्वको पक्षमा रहेको बताउनुभयो । “हामी सहमतिको पक्षमा छौं, नेपाली काँग्रेसको नेतृत्वको पक्षमा छौं, यसमा एमालेको पनि आपत्ति हुन्छ जस्तो मलाई लाग्दैन,” महतले भने
रासस
