समाचारशुक्रबार, मंसिर १४, २०७०
प्रतिपक्षमा बस्ने राप्रपा नेपालको घोषणा
काठमाडौंमा १४ मंसीरमा पत्रकार सम्मेलन आयोजना गरी राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनताले आफ्नो पार्टीलाई प्रतिपक्षमा बस्ने गरी मत दिएको भन्दै जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।
उनले भने, “जनादेश अनुसार राप्रपा नेपाल सत्ताको खेलमा नलागी प्रतिपक्षमा बस्ने घोषणा गरेको छ ।” उनले राप्रपा नेपालले संविधानसभामा कांग्रेस र एमालेले आफ्ना विचारहरु पनि समेटेमा संविधान लेखनमा रचनात्मक सहयोग गर्ने बताए ।
०६३ सालको राजनीतिक परिवर्तनपछि उदाएका अतिवादी शक्तिलाई जनताले नरुचाएकाले सबै राजनीतिक शक्ति र विचर अट्नेगरी संविधान बनाउनुपर्ने उनले सुझाव दिए ।
राष्ट्रपतिको पनि निर्वाचन
नयाँ निर्वाचनबाट चौथो शक्तिको रुपमा उदाएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले नयाँ जनादेश आएकाले राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन हुनु पर्ने बताएका छन् ।
उनले भने,“संविधानसभाको सम्पूर्ण संरचनामा परिवर्तन आइसकेको अवस्थामा राष्ट्रपति र उपराष्ट्रपतिको पनि नयाँ निर्वाचन हुनुपर्छ ।”
उनले निर्वाचनको क्रममा केही त्रुटि भएको दाबी गर्दै आगामी दिनमा त्रुटी दोहोरिन नदिन संसदीय समिति गठन गरेर छानबीन गर्नुपर्ने जिकिर गरे ।
निर्वाचनमा आफ्ना प्रत्यक्षतर्फका उम्मेदवारले हारे पनि समानुपातिकमा उल्लेख्य मत आएको भन्दै थापाले आफ्नो अजेण्डाको जीत भएको दाबी गरेका छन् । ।
