समाचारआइतबार, मंसिर १६, २०७०
बस दुर्घटना मृत्यु हुनेको संख्या १३ पुग्यो, ७ जनाको सनाखत
बाजुराबाट धनगढी आँउदै गरेको ना ५ ख ७८९ नंम्वरको वस डडेल्धुराको गांखेत गाविस ८ मेलखर्कमा १६ मंसीर बिहान पौने ५ बजे दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । क्षेत्रीय ट्राफीक प्रहरी कार्यालय अत्तरियाका प्रहरी नायब उपरीक्षक बिरेन्द्र बस्यालका अनुसार मृत्यु हुनेमा बाजुरा बाँधु–७ का सुरबहादुर अधिकारी (२२), दलबहादुर अधिकारी (२३), हरिलाल खत्री (३०) र भक्तबहादुर सार्की (३०) छन् । त्यसैगरी दुर्घटनामा बाजुरा कैलाशमाण्डौ– ८ का लक्ष्मीराम थापा (३२), सोही गाविस २ का दीर्घमति पण्डित (४०) र रमा पण्डित (१९) को पनि निधन भएको छ । बाँकी ६ जनाको १६ मंसीर रातिसम्म पनि सनाखत हुन सकेको छैन ।
बस अनियन्त्रित भई सडकबाट झण्डै दुई सय मीटर तल खसेको थियो ।
दुर्घटनामा परेर घाइते भएकाहरुको कैलाली र डडेल्धुराका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मेलखर्कमा भएको यो दुर्घटना सुदूरपश्चिममा १० महिनायताको सबैभन्दा ठूलो भएको प्रहरी नायव उपरीक्षक बस्यालले बताए ।
कपिल भट्ट, कैलाली
