थप समाचारसोमबार, मंसिर १७, २०७०
एघार बिघाको गाँजाखेती नष्ट
सिरहाको बडहाडामालस्थित सात बिघा, चन्द्रउदयपुरमा दुई कट्ठा, चन्द्रलालपुरमा ११ कट्ठा, फुलबरियामा ११ कट्ठा, बिष्णुपुरकट्टीमा दुई बिघा १२ कट्ठा गरी १० बिघा १६ कट्ठामा लगाएको प्रतिबन्धित गाँजाखेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिएका छन् ।
जोशीका अनुसार कृषकले घरआँगनमा, ऊखु, रहर र चुरे क्षेत्रमा खोरिया फाडेर लुकाइछिपाइ गाँजाखेती गरेका छन् ।
सिरहामा संसारमा नै सबैभन्दा उच्च गुणस्तरको गाँजा उत्पादन हुने गरेकाले भारतीय गाँजा तस्करले कृषकलाई मोटो रकम दिई गाँजाखेती गर्न प्रेरित गर्ने गरेको स्थानीयवासी बताउँछन् । तस्करले गाँजाखेती गर्न शुरुमा प्रतिकट्ठा पाँच हजारको दरमा रकम दिने गरेको चन्द्रलालपुरका रामप्रकाश महतोले बताए ।
“कृषकले बर्सेनि गाँजाखेती गर्ने गरेको र प्रहरीले पनि बर्सेनि फँडानी गरेर नष्ट गर्ने क्रम २५ वर्षदेखि निरन्तर चलिआएको हो”, महतोले भने, “कुनै वर्ष प्रहरीसँग रकम लिने शर्तमा कुरो मिलेपछि एकै वर्षमा कृषक मालामाल हुन्छन् ।”
तस्करहरूले गाँजाको गुणस्तर हेरेर चार हजारदेखि आठ हजारसम्म प्रतिकिलोमा कृषकसँग खरिद गरेर लग्ने गरेको पनि उनले बताए । भने, “कृषकलाई खेती गर्न लाग्ने प्रतिकट्ठा लाग्ने रु सात÷आठ हजार तस्करले खेतीको समयमा नै दिइसकेको हुन्छ जसले गर्दा प्रहरी खेती नष्ट गरेपनि फरक पर्दैन ।”
फूलबरिया गाविसका पूर्व अध्यक्ष जीवछ साहले प्रहरीले बर्सेनि गाँजा फँडानी गरेर नष्ट गर्ने गरेपनि गाँजाको बीउ बेर्नामा भएकै बेला नष्ट नगर्ने गरेकाले बर्सेनि खेती हुँदै आएको बताए ।
प्रहरीले गाँजाखेती नष्ट गरेपनि खेती गर्नेलाई समातेर कारबाही नगर्ने गरेकाले पनि गाँजाखेतीको क्रम नरोकिएको उनको भनाई छ ।
प्रहरी उपरीक्षक जोशीले खेतमा लगाएको गाँजा नष्ट गरेपनि खेत कसको हो सोबारे कसैले सूचना नदिने गरेका कारण कृषकलाई कारबाही गर्न नसकेको दाबी गरे ।
रासस
