थप समाचारमंगलबार, मंसिर १८, २०७०

पानी सुकेपछि बसाइँ सराइ

हिमालखबर

पाँचथरका यासोक, रानीगाउँ र स्याबरुम्बा गाविसका बासिन्दा घरको ढोकामा भन्दा पानीको ड्रममा ताल्चा लगाउन बढी ध्यान दिन्छन्। धारा, कुवा, पँधेरा दुई वर्षयता सुकेपछि त्यहाँका बासिन्दाले खानेपानी जोगाउन यो जुक्ति लगाएका हुन्। रानीगाउँ–८ का लेखनाथ खनालका अनुसार, खानेपानीको अभावले ती गाविसका झ्न्डै १५० परिवार गाउँ छाडेर बसाइँ सरिसकेका छन्।

खानेपानीको समस्या रानीगाउँको १, ५, ७, ८ र ९, यासोकको ५ र ७ तथा स्याबरुम्बाको १, ५ र ९ नम्बर वडामा बढी छ। यासोक बजारमा रहेको मुना होटलकी प्रोप्राइटर मुना श्रेष्ठ पानीको अभावका कारण गाउँमा पानी चोरी हुने गरेको सुनाउँछिन्।

लीटरको दुई रुपैयाँ
खानेपानीको अभाव कतिसम्म छ भने, यासोक र रानीगाउँका बासिन्दाले ८ किमी टाढाको निभुखोला दोभानबाट ट्याक्टरले ओसारेको पानी प्रति लीटर रु.२ का दरले किन्नु परेको छ। खानेपानी संकट क्षेत्र तमोर पम्पिङ संयोजन समितिका संयोजक नरबहादुर खड्काका अनुसार, तमोर नदीको पानी मशीनले तानेर वितरण गर्ने योजना पनि आर्थिक अभावका कारण अघि बढ्न सकेको छैन।

दुई वर्षअघि गरिएको विस्तृत सर्भेले सो योजना सम्पन्न गर्न रु.३० करोड खर्च हुने देखाएको थियो। सो योजनाबाट आउने पानीका लागि प्रतिपरिवारले मासिक रु.२ हजार तिर्नुपर्ने देखिएकाले योजना सफल भए पनि दिगो हुनेमा शंका गरिएको छ।

पहिलादेखि नै पानीको स्रोत कम भएको सो ठाउँमा स्काभेटर प्रयोग गरेर बाटो खनिएपछि कुवा र पानीको मुहान सुकेको बताउने रानीगाउँ–८ की चन्द्रकला सम्बाहाम्फेका अनुसार, चार/पाँच वर्षअघिसम्म कुवामा सजिलै पानी पाइने गरेकोमा अहिले एक गाग्रो पानी भर्न तीन घण्टा लाग्ने गरेको छ।
गणेश साम्पाङ, पाँचथर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>