समाचारमंगलबार, मंसिर १८, २०७०
नाम नबुझाए पनि प्रक्रिया रोकिन्नः उप्रेती
निर्वाचन आयोगले केही दलले समानुपातिकतर्फको नाम नबुझाए पनि प्रक्रिया अघि बढ्ने बताएको छ । आयोगको मिडिया सेन्टरमा १८ मंसीरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले केही दलले नाम नबुझाउँदैमा प्रक्रिया नरोकिने बताए ।
उनले भने, “केही दलले नाम नबुझाए पनि प्रक्रिया रोक्ने कुरा आउँदैन ।” उनले सर्वदलीय बैठक बहिष्कार गर्ने दलहरु पनि छिट्टै प्रक्रियामा आउने विश्वास व्यक्त गरे ।
आयोगले बैठकमा नआउने दललाई पत्राचार गरेको पनि जनाएको छ । प्रमुख आयुक्त उप्रेतीले भने, “उहाँहरुलाई समानुपातिकतर्फको नाम एक हप्ताभित्र पठाउन पत्राचार गरेका छौं ।”
तोकिएको समयभित्र नआए ऐनअनुसार तीन दिन म्याद थपिने पनि उनले जानकारी दिए । दलले सूचि नबुझाएमा के हुन्छ ? भन्ने संचारकर्मीको जवाफमा उप्रेतीले भने, “उहाँहरुले पाएको सिट उहाँहरुकै खातामा रहन्छ ।”
