थप समाचारबुधबार, मंसिर १९, २०७०

जाडोसँगै शुरु भयो बसाइँसराई

हिमालखबर

मगुको पूर्वी क्षेत्र करान भेकका उच्च हिमाली बस्तीका बासिन्दा जाडो छल्न मौसमी बसाइँ सर्न थालेका छन् । एकै गाउँको गाविस रहेको मुगु गाविस र डोल्फु गाविसका स्थानीयवासी हिउँदको जाडो छल्न बेँसीतिर बसाइँ सर्न थालेका हुन् ।

विगतका वर्षमा चिसो छल्न बेँसीतिर कात्तिकको अन्त्यतिर बसाइँ सर्ने स्थानीयवासी यो वर्ष भने संविधानसभा निर्वाचनका कारण मंसीरको मध्यतिर मात्र बसाइँ सरेका हुन् । बौद्धमार्गीको मात्र बसोवास रहेको मुगु गाविसका स्थानीयवासी चिसो छल्न पिप्लेडी, शिरानी चौर, सदरमुकाम गमगढी, जुम्ला र काठमाडौंसम्म पुग्ने गरेका छन् ।

मंसीरमा बसाइँ सरेका स्थानीयवासी गर्मी मौसम सुरु भएपछि चैतको अन्त्यतिर मात्र गाउँ फर्किने गर्छन् । अहिले चिसो छल्न गाउँबाट सबै हिँडिसकेका र दुई–तीन घरपरिवारमात्र बाँकी रहेको मुगु गाविस–५ का स्थानीयवासी कार्मा छोर्देन लामाले बताए ।

बसाइँ सरेसँगै उनीहरूले घोडा आफूसँग लिन्छन् भने चौँरीलाई हिमालतिर छोडेर हिँड्ने गरेका छन् । तर त्यस भेकका अन्य गाउँका स्थानीयवासी चौरी, झोवा र घोडामा साउन महिनामा तिब्बतबाट ल्याएको व्यापारिक सामान बोकाएर जिल्लाका खत्याड, गमगढी तथा छिमेकी जिल्ला बाजुरा र जुम्लातर्फ लिएर बेचबिखन गरी धानचामल ल्याउने गर्छन् ।

उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मुगु गाविसमा रहेको सीमा प्रहरी चौकीका सुरक्षाकर्मीसमेत फर्केर सदरमुकाम आइपुगेका छन् । चिसो बढेसँगै स्थानीयवासीले गाउँ छोडेपछि प्रहरी पनि फर्कनुपरेको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख पुष्कर केसीले जानकारी दिए ।

रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>