समाचारबुधबार, मंसिर १९, २०७०
निर्वाचनमा संस्थागत धाँधली भएको एमाओवादी प्रतिवेदन
एमाओवादीले गठन गरेको ‘उच्चस्तरीय तथ्य संकलन कार्यदल’ले १९ मंसीरमा प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन आयोगले निर्वाचन निर्देशिकाको उल्लंघन गरेर नीतिगत रुपमै धा“धली गरेको आरोप लगएको छ ।
पत्रकार सम्मेलनमा कार्यदलका संयोजक वर्षमान पुनले २४० वटै निर्वाचन क्षेत्रमा धाँधली भएको प्रमाण फेला पारेको दाबी गर्दै सरकारले तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताए ।
उनले आयोगले निर्देशिका विपरीत १० बुँदे सर्कुलर जारी गरेर मतपत्र संकलन, ढुवानी र भण्डारण प्रक्रियामा अनियमितता गरेको दाबी गरे । देशभरबाट मतदाता, निर्वाचन अधिकृत र निर्वाचन पर्यवेक्षकलगायतसँग तथ्य संकलन गरेर अनियमितताको प्रमाण फेला पारेको उनको भनाई छ ।
मत गणनाको प्रारम्भिक परिणाममा आफ्नो पक्षमा अपेक्षाअनुसार मत नआएपछि एमाओवादीले देशभरबाट आफ्ना प्रतिनिधि र उम्मेदवारलाई मत गणना बहिस्कार गर्न निर्देशन दिएको थियो ।
१० मंसीरमा बसेको एमाओवादी केन्द्रीय कमिटीको बैठकले निर्वाचनमा धाँधली गरेर आफूहरुलाई हराइएको आरोप लगाउँदै छानबिनका लागि उच्चस्तरिय तथ्य संकलन कार्यदल गठन गरेको थियो ।
