समाचारबिहीबार, मंसिर २०, २०७०

राष्ट्रपतिले ‘फ्रेस म्यान्डेट’ लिनुपर्छ: एमाले

हिमालखबर

संविधानसभा निर्वाचन परिणाम अाएसँगै राष्ट्रपतिको पनि निर्वाचन हुनु पर्ने एमालेले औपचारिक धारणाा राखेको छ ।

१९ मंसीरदेखि शुरु एमाले स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले लोकतान्त्रिक प्रक्रियाअनुरूप राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन हुनुपर्ने बताएका छन् ।

उनीहरुले व्यक्तिमा आफूहरुलाई कुनै आपत्ति नभए पनि राष्ट्रपतिलाई चुन्ने सभासद सांसदहरु नयाँ आइसकेको अवस्थामा राष्ट्रपतिको पनि ‘फ्रेस म्यान्डेट’ लिनुपर्ने धारणा राखेका हुन् । नेताहरूले लोकतान्त्रिक मान्यतालाई सम्मान गर्ने हो भने राष्ट्रपति र उपराष्ट्रपतिको पनि निर्वाचन हुनु पर्ने बहस औपचारिकरुपमै शुरु गरेका छन् ।

“निर्वाचनबाट नयाँ म्यान्डेट आएकोले राष्ट्रपतिले पनि फ्रेस म्यान्डेट लिनुपर्छ” एमाले सचिव युवराज ज्ञवालीले भने, “सबै नेताहरुको एउटै धारणा छ, ब्यक्ति जो सुकै भए पनि नयाँ जनादेशअनुसार राष्ट्रपति पनि अनुमोदित हुनु जरुरी छ ।”
निर्वाचनपश्चात नेपाली कांग्रेस ठूलो पार्टी भए पनि एमालेको पनि करिब करिब उस्तै हैसियत रहेकोले कांग्रेस आफूखुशी अघिबढ्न नसक्ने एमाले नेताहरुको धारणा छ ।

शक्ति बाँडफाँड गरी सहमतिमै एकवर्ष भित्र संविधान निर्माण गर्न जरुरी छ त्यसका लागि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका विषयलाई प्याकेजमै टुंगाउनु पर्ने एमालेको धारणा छ ।

काेंसले भने अन्तरिम संविधानमा ब्यवस्था भए बमोजिम नयाँ संविधान जारी नभएसम्म राष्ट्रपति र उपराष्ट्रपति अहिलेकाले नै निरन्तरता पाउने बताउँदै आएको छ । संविधानमा ब्यवस्था नै नभएको विषयलाई लिएर विवाद गर्नु उचित नहुने भन्दै कांग्रेसले अहिले राष्ट्रपतिका बारेमा विवाद ल्याउनु उचित नभएको धारणा आघि सारेको छ ।

एमाले स्थायी कमिटीको बैठक जारी रहेकाले सरकार, राष्ट्रपति लगायत विषयमा औपचारिक निर्णय भने भएको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>