समाचारशुक्रबार, मंसिर २१, २०७०
दाहाललाई १० दिनभित्र उपस्थित हुन आदेश
संविधानसभा सदस्य निर्वाचनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग थोरै मतले पराजित एमालेका लीलानाथ श्रेष्ठको उजुरीमाथि सुनुवाई गर्दै संविधानसभा अदालतले आवश्यक कागजातसहित १० दिनभित्र उपस्थित हुन दाहाललाई आदेश दिएको छ ।
संविधानसभा अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, र सिरहा क्षेत्र नं ५ का निर्वाचन अधिकृत उद्धब भट्टराईलाई आवश्यक कागजातसहित उपस्थित हुन आदेश दिएको हो ।
निर्वाचनमा दाहालका प्रतिस्पर्धी रहेका नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले एमाओवादी कार्यकर्ताले विभिन्न मतदान केन्द्र कब्जा गरी आफूखुसी मत खसालेकाले मतदानको निष्पक्षता र स्वतन्त्रतामा असर पुगेको आरोप लगाउँदै पुनः मतदान गर्न माग गरेका थिए ।
आठवटा उजुरी दर्ता
निर्वाचनमा पराजित विभिन्न निर्वाचन क्षेत्रका पाँच निकटतम प्रतिद्वन्द्वीले संविधानसभा अदालतमा छुट्टाछुट्टै उजुरी दर्ता गराएका छन् ।
मतदान केन्द्र कब्जामा लिएर निर्वाचनमा धाँधली गरेको आरोपसहित पुनः मतदान गराउन र मतगणना दोहो¥याउनुपर्ने माग गर्दै ८ जना पराजित उम्मेदवारहरुले संविधानसभा अदालतमा २१ मंसीरमा उजुरी गरेका छन् ।
उजुरी गर्नेहरूमा सदभावना पार्टीका तर्फबाट सप्तरी–२ का उम्मेदवार नवलकिशोर साह, महोत्तरी–४ का सुरिताकुमारी साह, महोत्तरी–२ का जानकीशरण साह, एमाओवादीका तर्फबाट सिराहा–३ का रामरिझन यादव र नेपाली कांग्रेसका तर्फबाट गोरखा– २ का उम्मेदवार रविकला शर्मा न्यौपाने छन् ।
उनीहरुले ती क्षेत्रबाट विजयी क्रमशः एमाओवादीका अशोककुमार मण्डल, स्वतन्त्र उम्मेदवार चन्देश्वर झा, नेपाली कांग्रेसका किरण यादव, नेपाली कांग्रेसकै सीतादेवी यादव र एमाओवादीका हितराज पाण्डेबिरुद्ध उजुरी दिएका हुन् ।
