थप समाचारशनिबार, मंसिर २२, २०७०
जनकपुरमा विवाह पञ्जमीको धुमधाम
त्रेता युगका आदर्श पुरुष भगवान राम र जनक पुत्री सीतको विवाह भएको सम्झनामा २२ मंसीरमा विवाह पञ्चमी हर्षोल्लासका साथ मनाइँदैछ । सात दिन सम्म चल्ने यो महोत्सवको छैठो दिन आज प्रतिकात्मक रुपमा राम–सीताको विवाह गरिदैं छ ।
विवाह पञ्चमीका अवसरमा दिउंसो एक बजे जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णव दुलही पक्षबाट जानकीजीको डोला संगै जनकपुरस्थित बाह्र बिघा मैदानमा पुगेका भने राम मन्दिरका महन्थ राम गिरी बेहुला पक्षको प्रतिनिधित्व गर्दै अयोध्याबाट आएका संत महन्थसंगै रामजीको डोला लिएर स्वंम्बरको लागि उपस्थित भए ।
त्यहां राम र सीताको विधिवत स्वयम्वर गरिएपछि संयुक्त रुपमा निस्केको शोभा यात्रा जनकपुरको परिक्रमा गरि जानकी मन्दिरमा पुगेको छ ।
शोभा यात्रा सम्पन्न भएपछि वैदिक परम्परा अनुसार राम र सीताको विवाह जानकी मन्दिरमा बनाईएको भव्य मडवामा गरिने परम्परा छ ।
यसअवसरमा जनकपुरमा लाखौंको संख्यामा देशी–विदेशी श्रद्धालु र पर्यटकहरुको भीड लागेको छ ।
विगतमा राज्यको तर्फबाट अयोध्याबाट आएको जन्तीहरुको स्वागतमा हेलिकप्टरबाट पुष्प वर्षा गरिने परम्परा रहे पनि विगत चार वर्षदेखी पुष्पवर्षा रोकिएको छ ।
विवाह पञ्चमीको अवसरमा सुरक्षा सतर्कता उच्च पारिएको धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले बताएका छन् ।
विवाह पञ्चमीको अवसरमा परिक्रमा क्षेत्रभित्र मांस मदिरा निषेध गरिएको छ भने उद्योग वाणिज्य संघले शनिबार भए पनि सम्पूर्ण पसलहरु खोल्न व्यापारीहरुलाई आग्रह गरेको छ ।
मनिका झा, जनकपुरधाम
