समाचारआइतबार, मंसिर २३, २०७०
एमाओवादीलाई नआत्तिन कांग्रेस–एमालेको सुझाव
कांग्रेस र एमालेले एमाओवादीलाई संविधानसभामा आउन आग्रह गरेका छन् । दुवै पार्टीले २३ मंसीरमा एमाओवादीका नेतालाई छुट्टाछुट्टै भेटेर संविधानसभामा आउन आग्रह गरेका हुन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा भएको भेटमा कांग्रेस–एमालेले संविधानसभाबाटै समस्याको समाधान निस्कने भन्दै संविधानसभामा सहभागि हुन आग्रह गरे । कांग्रेस नेताले एमाओवादी नेताहरुलाई भेटेपछि एमाले नेताले पनि भेट गरेका थिए । सबै मिलेर अघि बढ्नुपर्ने भएकाले संविधानसभामा आउन आग्रह गरेको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले बताए ।
एमाले उपाध्यक्ष बामदेव गौतमले माओवादीलाई नआत्तिन आग्रह गरेको बताए । “२०६४ सालको चुनावको परिणामले एमालेलाई मर्मातहत पारे पनि केही समयपछि त्यो पीडा कमी भएको थियो,” उनले भने, “अहिले त्यस्तै भएको एमाओवादीलाई बिस्तारै ठीक हुन्छ भनेर नआत्तिन सल्लाह दिऔं ।”
१२ बुँदे सम्झौतादेखि अहिलेसम्मका उपलब्धिलाई संस्थागत गर्दै संविधानसभामा आउन आग्रह गरेको उनले बताए । काँग्रेस र एमालेबीच २२ मंसीरमा भएको छलफलमा आपसी सहमतिमै सरकार तथा संविधान निर्माण गर्ने र अरु दललाई पनि सहमतिमा ल्याउने निर्णयअनुसार भेटवार्ता भएको हो ।
तर एमाओवादीले भने चुनावमा धाँधली भएको भन्दै छानविनका लागि उच्चस्तरीय स्वतन्त्र छानविन आयोग गठन गर्नुपर्ने अडान कायमै राखेको छ । छलफलपछि एमाओवादी नेता नारायणकाजी श्रेष्ठले आफूहरुले संविधानसभामा जाने तर धाँधली छानविनका लागि आयोग गठन गर्नुपर्ने बताए ।
