समाचारआइतबार, मंसिर २३, २०७०
आमाको छेउँमा जन्मदिन कसरी सेलिब्रेसन गरुँ ?
-नेत्र एटम
“त्यस बेला हामी रोल्पाको जसपुर छाडेर हिउँदमा दाङको भेलाहीमा बस्न थालेका थियौँ ।
पहाडको जाडो छल्न मङसीरको १०–११ तिर दाङ आयौँ । मेरो पेटमा तँ थिइस् । पहाडको अप्ठ्यारो बाटो, तर मिर्मिरे बिहानमा हिँडेर साँझ झमक्क पर्दा हामी दाङको घर आइपुग्यौँ ।
गह्रुको झोला बोकेको भए पनि हिँड्न कत्ति गाह्रो भएन । १५ गते दिदीलाई घर पठाएको हो र त्यसको ठिक्क आठ दिनपछि २३ गते आइतबारको साँझमा हो तँ जन्मेको ।
त्यो दिनभरि तोरीबारीको आलीमा गएर घाँस काटेँ । साँझ भएपछि भर्खरै घर आएकी ठूली बुहारीले पकाएको भात खाएर म छिट्टै सुतेँ, तेरा बा गाउँ बस्न पल्लाघर जानुभो ।
निदाउनै लागेको बेला पेट चसक्क भो । उठेर बत्ती बालेँ । हाम्रो घर बाँसका छडीले बारेर माटाले पोतेको, एकतले र नजिकै खरको छानो भएको अति कमजोर थियो । बत्ती निभाएर गोठतिर गएँ । पेट निक्कै दुख्न थालेपछि ढोकाको सँघारमा उभिएर किलामा सिउरेको डोरी समातेर केही बेर झुन्डिएँ । तँ जन्मिइस् ।
तँलाई बिस्तारै गोठको भुईंमा राखेँ । खुब चिच्याएर रोइस् । तँभन्दा अघि मेरा छ भाइबहिनी छोराछोरी भइसकेका थिए । खोपामा राखेको हँसियाले नाल काटेँ र औषधि हुन्छ भनेर त्यसलाई छानामा कोचेँ ।
त्यसै बेला तेरा बा गाउँबाट आउनुभयो । गोठको ढोका खुल्लै देखेर ‘ढोका कल्ले उघार्यो हँ ?’ भनेर कराउनुभो । मैले सुस्तरी ‘म’ भनेपछि उहाँले कुरा बुझ्नुभो र हल्ला गर्दै घर गएर आगो बाली पानी तताउनुभो ।
मैले धोतीको टुक्रो च्यातेर तँलाई पुछेँ अनि काखमा डल्लो पारेर सेक्न लगेँ । राती सालचाहिँ बारको छेउमा लगेर आफैँ कुटोले खोस्रेर गाडेँ ।
त्यति बेला म ४२ वर्षकी थिएँ । बुहारी भर्खरकी १८ वर्षकी कच्चा उमेरकी थिई, गाउँका कोही पनि ‘सोरिन्या’ तेल लगाउन आउन मानेनन् ।
भोलिपल्ट आफैँ कुलामा गएर सबै लुगा धोएँ र आफैँ तेल लगाउने, तँलाई सेक्ने र पकाएर खान खाने गर्न थालेँ । न्वारनका दिन तेरो नाउँ ‘नेत्र’ राखे पनि हामीले भने सधैँ ‘शङ्कर’ भन्न थाल्यौँ ।”
अतीतको कहालीलाग्दो कल्पना र वर्तमानको आनन्दी यथार्थको तुलना गर्दै मैले आमाका कुराहरु सुनिरहेँ ।
८६ बर्से आमाको आवाजमा थोतेपना थियो तर त्यसमा मलाई जन्माएकोमा कुनै अभिमान थिएन । आमाहरु किन अभिमानी हुँदैनन् ?
हुन सक्छ, वास्तविक सर्जकहरु हुटिट्याउँको जस्तो आफैँले आकाश थामेझैँ गरेर अहम् देखाउँदैनन् । अनि, आमाको छेउँमा आफ्नो जन्मदिनमा मैले कस्तो ‘सेलिब्रेसन’ गरूँ ?
मभित्र अहिले रहस्यहरु होलान् तर आमाका निम्ति त मेरो जन्म हुनु एउटा हलुको हुने प्रयास मात्र पो रहेछ । सुनेर म त छक्क !
कवि–लेखक नेत्र एटमले आफ्नो जन्मदिनमा लेखेको फेसबुक स्टाटसबाट

