समाचारआइतबार, मंसिर २३, २०७०

पौडेललाई १२ दिन म्याद थप, दुवै माओवादीको विरोध

हिमालखबर

कृष्णप्रसाद अधिकारीको हत्या आरोपमा पक्राउ परेका परशुराम पौडेललाई अदालतबाट १२ दिनको म्याद थप गराएर प्रहरीले अनुसन्धान शुरु गरेको छ । किटानी जाहेरी परेका पौडेल फरार रहेको भन्दै प्रहरीले यसअघि पक्राउ गरेको थिएन ।

छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा अनशनमा रहेका अधिकारीका बाबु नन्दप्रसाद र आमा गङ्गामायाको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि पछिल्लो समय फरार रहेका पौडेलसहित अन्यको खोजी कार्यलाई प्रहरीले तीव्रता दिएको हो ।

भरतपुर नगरपालिका–९ शरदपुरस्थित उनकै निवासबाट पक्राउ परेका  पौडेललाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा राखिएको थियो ।

२६ मंसीर २०६२ मा मृतक अधिकारीका दाजु नुरप्रसाद अधिकारीले ११ जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएका थिए ।

झन्डै तीन महिनाअघि अधिकारीका बाबुआमा दोषीलाई कारबाही नभएको भन्दै आमरण अनशनमा बसेपछि प्रहरीले आरोपितमध्ये रामप्रसाद अधिकारीलाई पक्राउ गरी अनशन तोडाए पनि पछि प्रमाण नपुगेको भन्दै अधिकारीलाई छोडिएको थियो ।

प्रवेशिका परिक्षा दिएर हजुरबुबा र हजुरआमालाई भेट्न चितवन पुगेका कृष्णप्रसादको २४ जेठ २०६१ मा हत्या भएको थियो ।

नुरप्रसादले पौडेल र अधिकारीसँगै गोरखा फुजेल–६ का छविलाल पौडेल, मेघनाथ पौडेल, फुजेल–७ का विष्णु तिवारी, सुभद्रा अधिकारी, सीता अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, रामप्रसाद अधिकारी र भीमसेन पौडेल घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए ।

पौडेलमाथि दुवै माओवादीको दाबी

जिप्रका चितवनले पक्राउ गरेको पौडेललाई दुवै माओवादीले आफ्नो कार्यकर्ता भएको भन्दै रिहाइको माग गरेका छन् ।

अजिव उपनामबाट चिनिने भरतपुर नगरपालिका–९ शरदपुर घर भएका पौडेल पार्टी एक हुँदा बुद्धिजीवी संगठनका जिल्ला सदस्य थिए । जग्गा व्यवसायी पौडेल नारायणगढमा रहेको सत्यम् जेभिर्यस नामक निजी विद्यालयका सञ्चालक समेत हुन् ।

पौडेल पक्राउ परे लगत्तै एमाओवादी र नेकपा–माओवादीले छुट्टाछुट्टै विज्ञप्ति जारी गरी पौडेल निर्दाेष रहेको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।

एमाओवादीले गिरफ्तारीको विरोध गर्दै २३ मंसीर दिउँसो ३ देखि ४ बजेसम्म जिल्लाका प्रमुख ६ स्थानमा चक्काजाम गर्‍यो ।

त्यस्तै नेकपा–माओवादीको जिल्ला नेतृत्वले पौडेललाई अदालत लगेसँगै उनको रिहाइ हुनुपर्ने भन्दै दिनभर जिल्ला अदालतमा धर्ना दिएका थिए ।

एमाओवादी जिल्ला संयोजक घनश्याम दाहालले पौडेल पार्टी फुटेपछि भएको संगठनको जिल्ला भेलाको प्रतिनिधि भएको बताएका छन् भने नेकपा–माओवादीकी जिल्ला सहइन्चार्ज अम्बिका मुडवरीले पौडेल आफ्नो संगठनको सदस्य रहेको दाबी गरेकी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>