समाचारसोमबार, मंसिर २४, २०७०
केहीले मत बढाए, केहीको घट्यो, केही अटाएनन्, केही थपिए
संविधानसभामा पुगेका ३० मध्ये ६ नयाँ, ६ फुटेर बनेका र १८ पुरानै दल छन् ।
७ दलको बढ्यो
२०६४ को संविधानसभामा रहेका २५ दलमध्ये नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, दलित जनजाति पार्टी र नेपाल परिवार दलको मत बढेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको मत घटे पनि सीट संख्या बढेको छ । गत निर्वाचनमा २ लाख ६३ हजार ४३१ मत ल्याएको राप्रपाको मत घटेर २ लाख ६० हजार २३४ भएको छ । तर सीट ८ बाट बढेर १० पुगेको छ । गत निर्वाचनमा प्रत्यक्षतर्फ एक सीट पनि नजितेको राप्रपाले यो पटक ३ सीट जितेको छ ।
गत संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ २२ लाख ६९ हजार ८८३ मत ल्याएको कांग्रेसले यो पटक २४ लाख १८ हजार ३७० मत ल्याएर पहिलो पार्टी बनेको छ । कांग्रेसले समानुपातिकतर्फको सीट ७३ बाट बढाएर ९१ पु¥याएको छ । प्रत्यक्षमा ३७ सीट जितेको कांग्रेसले यो पटक १०५ स्थानमा विजय हासिल गरेको छ ।
एमालेको समानुपातिक सीट ७० बाट बढेर ८४ पुगेको छ । २०६४ मा २१ लाख ८३ हजार ३७० मत पाएको एमालेले यो पटक २२ लाख ३९ हजार ६०९ मत ल्याएको छ । त्यतिवेला प्रत्यक्षमा ३३ सीट जितेको एमालेले यो पटक ९१ सीट ल्याएर दोस्रो ठूलो पार्टी बनेको छ ।
प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेको राप्रपा नेपालले समानुपातिकतर्फको मत १ लाख १० हजार ५१९ बाट बढाएर ६ लाख ३० हजार ६०९ पुर्याएको छ । त्यो वेला चार सीट पाएको उसले अहिले २४ सीट पुर्याएको छ ।
गत संविधानसभामा समानुपातिकतर्फ ५३ हजार ९१० मत ल्याएको राष्ट्रिय जनमुक्ति पार्टीले ६३ हजार ८३४ मत ल्याएको छ । उसको सीट संख्या भने दुईभन्दा बढेको छैन । दलित जनजाति पार्टीको मत ४० हजार ३४८ बाट ४८ हजार ८०२ पुगेको छ । सीट संख्या पनि एक रहेकोमा दुई भएको छ । नेपाल परिवार दलले पनि २३ हजार ५१२ बाट ५१ हजार ८२३ पु¥याएको छ । त्यो वेला एक सीट जितेको परिवार दलले यो पटक दुई सीट बनाएको छ ।
१० दलको घट्यो
२०६४ मा २४० मध्ये १२० सीट जितेको एनेकपा माओवादी यो पटक २६ सीटमा खुम्चिएको छ । त्यति वेला समानुपातिकमा ३१ लाख ४४ हजार २०४ मत ल्याएको एमाओवादीले अहिले १४ लाख ३९ हजार ७२६ मत मात्र ल्यायो । समानुपातिक सीट संख्या १०० बाट घटेर ५४ मा पुगेको छ ।
पटक पटक विभाजनको शिकार भएको मधेशी जनअधिकार फोरम (मजफो) नेपालको समानुपातिक मत ६ लाख ७८ हजार ३२७ बाट २ लाख १४ हजार ३१९ मा झरेको छ । त्यतिवेला प्रत्यक्षमा ३० र समानुपातिकमा २२ सीट जितेको मजफो नेपालले यो पटक प्रत्यक्षमा दुई र समानुपातिकमा ८ सीट जित्यो ।
प्रत्यक्षमा ९ र समानुपातिकमा ११ सीट जितेको तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले यसपटक प्रत्यक्षमा ४ र समानुपातिकमा ७ सीट जितेको छ । त्यतिवेला ३ लाख ३८ हजार ९३० पाएको तमलोपाले यसपटक १ एक लाख ८१ हजार १४० मत मात्रै पायो ।
यस्तै सद्भावना पार्टी, नेकपा माले, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाली जनता दल, समाजवादी जनता पार्टी र नेपाः राष्ट्रिय पार्टीले अघिल्लो चुनावको तुलनामा कम मत पाएका छन् ।
६ नयाँ दल
पहिलो पटक संविधानसभा चुनाव लडेका ६ दल संविधानसभामा पुगेका छन् । संघीय समाजवादी पार्टी नेपाल, थरुहट तराई पार्टी नेपाल, अखण्ड नेपाल पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा, जनजागरण पार्टी र मधेश समता पार्टी नयाँ दल हुन् ।
फुटेर बनेका दल
अघिल्लो संविधानसभामा रहेका दलबाट फुटेर बनेका ६ दल संविधानसभामा पुगेका छन् ।
मजफो लोकतान्त्रिक, मजफो गणतान्त्रिक र राष्ट्रिय मधेश समाजवादी पार्टी मजफो नेपालबाट फुटेर बनेका हुन् । यस्तै तमलोपाबाट फुटेको तराई मधेश सद्भावना पार्टी नेपाल र सद्भावना पार्टीबाट फुटेको संघीय सद्भावना पार्टी पनि संविधानसभामा पुगेको छ । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विभाजन भएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले समानुपातिकमा एक सीट जितेको छ ।
तीन बाहिर, दुई विलीन र दुई बहिष्कार
अघिल्लो संविधानसभामा समानुपातिक तर्फबाट प्रतिनिधित्व गरेका मध्ये तीन दल संविधानसभामा आउन सकेनन् । यसपटक एक सीट पनि जित्न नसक्ने दलमा नेपाल लोकतान्त्रिक समाजवादी दल (नेलोसद), नेपाल सदभावना पार्टी (नेसपा) र चुरे भावर राष्ट्रिय एकता पार्टी नेपाल छन् । विघटित संविधानसभामा नेलोसद र चुरे भावरको एक/एक तथा नेसपाको तीन सीट थियो । यस्तै जनमोर्चा नेपाल एनेकपा माओवादी र राष्ट्रिय जनशक्ति पार्टी राप्रपामा विलय भएका छन् ।
अघिल्लो संविधानसभामा दुई/दुई सीट जितेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेकपा एकीकृतले निर्वाचन बहिष्कार गरे । दुवै दल मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा छन् ।
