समाचारमंगलबार, मंसिर २५, २०७०
समानुपातिक सूचि बुझाउने म्याद ३ पुससम्म
निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली बुझाउन दलहरुलाई आठ दिन थप समय दिएको छ । दलहरुको आग्रह पछि आयोगले २५ मंसीरमा नामावली बुझाउने म्याद थप गरेको हो ।
निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले अब दलहरुले ३ पुसभित्र समानुपातिक सूचि बुझाउन सक्ने बताए । उनले भने, उम्मेदवार छान्ने गृहकार्यका लागि दलहरुले अझै प्रशस्त मौका पाओस भनेर आयोगले म्याद थप गरेको हो ।
समय थप भएपछि दलहरुलाई अझै सजिलो हुने उनले विश्वास व्यक्त गरे । उनले कांग्रेस–एमाले र एमाओवादीबीच वार्ता र छलफल चलिरहेकाले पनि म्याद थपेको हिमालखबरसँग बताए ।
यसअघि आयोगले २५ मंसीरभित्र समानुपातिक सूचि बुझाउन दलहरुलाई म्याद दिएको थियो । कांग्रेस, एमाले लगायतका दलले आन्तरिक विवादका कारण सभासद हुनेको नाम चयन गर्न सकिरहेका छैनन् ।
एमाओवादी, संघीय समाजवादी लगायत १३ दलले उच्चस्तरीय स्वतन्त्र छानबिन आयोग नबनेसम्म आयोगमा समानुपातिक सभासदको नाम नपठाउने अडानमा छन् ।
आयोगकाअनुसार २५ मंसीरसम्ममा ९ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नामावली बुझाएका छन् ।
