थप समाचारबुधबार, मंसिर २६, २०७०
हात्तीको आक्रमणबाट दुईको मृत्यु
रौतहटको लक्ष्मीनियामा जंगली हात्तीको आक्रमणबाट २६ मंसीरमा दुई जनाएको मृत्यु भएको छ । एक जना गंभीर घाइते छन् ।
लक्ष्मीनिया–९ बुटुवा टोलमा जंगली हात्तीको बथान पसेर आक्रमण गर्दा घरमै सुतिरहेका ६५ वर्षीय गोविन्द गिरी र उनका ३२ वर्षीय छोरा सुमन गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीको समूहले दुवै बाबुछोरालार्ई ओछ्यानबाट घिसार्दै खेतमा लगेर कुल्चिएर मारेको र सोही घरमा सुतेका उमेश रखालले भने हात्तीको आक्रमणपछि घाइते अवस्थामा नै भागेर ज्यान बचाएका छन् ।
हात्तीले गिरीको घर भत्काएर पूर्णरूपमा ध्वस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक गोविन्दराम परियारले जानकारी दिए । घाइते रखालको अहिले वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
केही दिनयता रौतहटको उत्तरी क्षेत्रमा जंगली हात्तीको आक्रमण बढ्न थालेपछि स्थानीय जनजीवन नराम्रोसँग प्रभावित भएको छ ।
रासस
