समाचारबुधबार, मंसिर २६, २०७०
निर्वाचनको विषयमा उच्चस्तरीय समितिमा पनि विवाद
उच्चस्तरीय राजनीतिक समितिमा पनि दलहरुबीच विवाद भएको छ । दलहरु आ–आफ्ना अडानमा कायमै रहँदा शान्ति सचिवालयको कार्यालय बबरमहलमा २६ मंसीरमा बसेको बैठक पनि बिना निष्कर्ष टुंगिएको छ ।
बैठकमा निर्वाचनका बारेमा प्रमुख दलहरुका फरक–फरक धारणा आएपछि बैठक बिना निष्कर्ष सकिएको नेताहरुले प्रतिक्रिया दिएका छन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै नेताहरुले निर्वाचनपछि उत्पन्न राजनीतिक अवस्थाका बारेमा छलफल भएको बताए ।
बैठकमा एमाओवादीले निर्वाचन सम्पन्न भएपछि भएको धाँधलीको छानबीन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग दोहोर्याएको थियो । तर, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले मत पेटिका खोल्नुअघि सर्वदलीय बैठक बसेकाले धाँधली नभएको दावी गरेका थिए ।
बैठकपछि एमाअोवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनपछिको अवस्थाका बारेमा गंभीर रुपमा छलफल शुरु भएको प्रतिक्रिया दिए । उनले एमाओवादीले संविधानसभा बहिस्कार नगरे पनि आफ्ना केही मागबारे सम्बोधन हुनपर्ने बताए ।
कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाओवादीको मागअनुसार आयोग गठन गर्न नसकिने बताए । उनले भने, “मत गणना अघि सर्वदलीय बैठकको निर्णयअनुसार नै मत पेटिका खोलिएकाले माओवादीले लगाएको धाँधलीको आरोप पुष्टि हुने आधार छैन ।” एमाले नेता भीम रावलले आयोग गठनका बारेमा दलहरु आ–आफ्ना अडानमा कायमै रहेकाले बैठक निष्कर्षमा नपुगेको जानकारी दिए ।
समितिको अर्को बैठक २९ मंसीरमा बस्नेछ ।
