थप समाचारबिहीबार, मंसिर २७, २०७०
भारतीय डाका झापामा समातिए
झापाका विभिन्न ठाउँमा डाकैती गर्दैआएका भारतीय मोहम्मद जलिमलाई प्रहरीले भद्रपुरबाट पक्राउ गरेको छ । २६ मंसीरमा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय चन्द्रगढीले २७ मंसिरमा सार्वजनिक गरेको हो ।
उनी सहितको भारतीय डाँका समूहले १८ मंसीरमा झापा पाठामारी–३ का जियारुल मियाँको घरबाट नगद, गरगहनासमेत ९ लाख ४५ हजार रुपैंया बराबरको धनमाल लुटेको र २२ मंसीरमा बनियानी–२ का देबेन्द्र लिम्बुको घरबाट ३ लाख ७० हजार ८०० रुपैंया बराबरको धनमाल लुटेको थियो ।
यस्तै, उनीमाथि २ जेठ, २०६९ मा भद्रपुर–१२ का रामचन्द्र गुप्ताको घरबाट नगद र सुन समेत साढे ७ लाख, १ असार, २०६९ मा बनियानी–८ का जयप्रसाद राईको घरबाट सुन, मुगा र नगद समेत गरी १६ लाख ५०० रुपैंया बराबरको धनमाल लुटेको अभियोग छ । उनले ३० मंसीर, २०६९ मा झापा बनियानी–२ का कुशपतलाल राजबंशीको घरबाट ६ लाख मूल्य बराबरको गरगहना र नगद लुटेको प्रहरीले जनाएको छ ।
उनी भारत बिहारको किसनगञ्ज जिल्ला, कुर्लिकोट थाना अन्तर्गतको नैनागाछी टोलका बासिन्दा हुन् । १६ जना युवालाई डकैतीमा परिचालन गरी नेपालमा अरु डकैतीको योजना बनाइरहेको बेला उनी समातिएको प्रहरीको दावी छ ।
गोपाल गडतौला, झापा
