थप समाचारशुक्रबार, मंसिर २८, २०७०
धेरै फल्यो सुन्तला
अर्घाखाँचीमा यस वर्ष करिब ७ करोड रुपैंया बराबरको सुन्तला उत्पादन हुने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । अर्घाखाँचीको पणेना पटौटी, खिदीम अर्घातोष, भगवती मरेङ, हंसपुर, ढिकुरा खा“चीकोट लगायतका गाविस सुन्तला खेतीको पकेट क्षेत्र हुन् ।
सबै स्थानमा सुन्तला उत्पादनमा वृद्धि भएपछि यस बर्ष ४५ सय मेट्रिक टन सुन्तला उत्पादन हुने कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत कमानसिंह थापाले जानकारी दिए । अर्घाखाँचीमा गत वर्ष ६ करोड ७६ लाख ५० हजार रुपैंया बराबरको सुन्तला उत्पादन भएको थियो ।
यस वर्ष झण्डै १० प्रतिशतसम्म उत्पादनमा वृद्धि हुने कार्यालयको अनुमान छ । यहाँ उत्पादित सुन्तला ६० प्रतिशत जिल्लामै खपत हुने गरेको छ । गत वर्ष ३ करोड ७५ लाख ९० हजार रुपैंयाको सुन्तला जिल्लामै र ३ करोड ६० लाख रुपैंयाको सुन्तला जिल्ला बाहिर निर्यात भएको थियो ।
जिल्लामा ७०६ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकोमा ५२२ हेक्टर क्षेत्रफल उत्पादनशील रहेको कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत थापाको भनाई छ ।
प्रेमनारायण आचार्य, अर्घाखाँची

