थप समाचारआइतबार, मंसिर ३०, २०७०
जाडो छल्न चराहरु चितवनमा
जाडो छल्न विभिन्न प्रजातिका चरा चितवन आउन थालेका छन् । कर्याङकुर्याङ नामका चरालगायत विभिन्न प्रजातिका चरा तिब्बतबाट चितवन आउने क्रम शुरु भएको चरा विज्ञले बताएका छन् ।
तिब्बतमा यो समयमा निक्कै जाडो हुने भएकाले सो प्रजातिका चरा नेपालको विभिन्न क्षेत्र हुँदै चितवन आउने गर्छन् । चितवनमा भन्दा तिब्बतमा यो समयमा जाडो हुने र आहाराका लागि पनि कर्याङकुर्याङ चरा यहाँ आउने गरेको बर्ड एजुकेसन सोसाइटी सौराहाका अध्यक्ष वासु विडारीले बताए ।
ती चरा समूह बनाएर हजारौंको सङ्ख्यामा आउने गर्दछ । कालीगण्डकी भ्याली हुँदै पश्चिम चितवनको दिव्यनगर र सिसवार क्षेत्रमा विचरणका लागि ती चरा आएको उनले बताए ।
उनका अनुसार ३० मंसीरमा मात्रै १९८ वटा चरा गणना गरिएको छ ।
रातको समयमा नारायणी नदी किनारमा बस्ने सो चरा दिउँसोको समयमा आहाराका लागि दिव्यनगर र सिसवार क्षेत्रमा आउने गर्दछ । कर्याङकुर्याङ चरा प्रत्येक वर्ष जाडो छल्न र आहारका लागि आउने गरेको पनि विडारीको भनाई छ ।
जाडो महिना सकिएलगत्तै सो चरा पुनः तिब्बत नै फर्किने गर्छ । चितवनमा करिब ६०० प्रजातिका चरा रहेका छन् ।
चरा अवलोकनकै लागि पनि चितवनमा पर्यटक आउने गरेका छन् । नेपालमा ८०० भन्दा बढी प्रजातिका चरा रहेका छन् । प्रायः यहाँ विभिन्न देशबाट चरा बसाइँ सर्ने गर्दछन् ।
रासस
