समाचारसोमबार, पौष १, २०७०
काशी तिवारी हत्या आरोपी माओवादी नेता पक्राउ
हिन्दु युवा संघका संस्थापक अध्यक्ष काशी तिवारीको हत्या आरोपी सीयाराम कुशवाहालाई प्रहरीले पक्राउ गरेको छ । तिवारीको हत्या भएको साढे तीन वर्षपछि फिरोज भनिने कुशवाहालाई प्रहरीले १ पुसमा चितवनको भण्डाराबाट पक्राउ गरेको हो ।
तिवारी हत्यामा उनको संलग्नता रहेको आरोप छ । भण्डारामा लुकेर बसेको अवस्थामा पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रमुख धीरजप्रताव सिंहले जानकारी दिए ।
वीरगञ्ज–१३ मसानघाट शिवपार्वती मन्दिर नजिकै १२ असार २०६७ मा हिन्दु युवा संघका संस्थापक अध्यक्ष तिवारीको हत्या भएको थियो । हत्या आरोपी २८ वर्षीय कुशवाहा रौतहटको हथियाही–५ जमुनिया टोलाका बासिन्दा हुन् ।
अर्का अभियुक्त बारा हरैया–८ का २५ वर्षीय अमनप्रसाद कुशवाहालाई पक्राउ गरी वीरगञ्ज कारागारमा चलान गरिसकिएको छ । उनलाई २२ भदौ २०६८ मा प्रहरीले पक्राउ गरेको थियो । अमनकै बयानका आधारमा सीताराम कुशवाहा पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।
अमनले चलाएको मोटरसाईकल पछाडी बसी तिवारीलाई गोली प्रहार गरेका सीयाराम फरार भएका थिए ।
बिम्मी शर्मा, वीरगञ्ज
