थप समाचारमंगलबार, पौष २, २०७०
उपल्लो मर्स्याङदी ए को बाँध निर्माण शुरु
निर्माणधिन ५० मेगावाट क्षमताको उपल्लो मर्स्याङदी ए जलविद्युत आयोजनाले १ पुसदेखि बाँध निर्माणको कार्य शुरु गरेको छ । उत्तरी लमजुडको खुदी, बाहुनडाडा र भूलभुले गाविसको दोभानमा मर्स्याङदी नदीको पानी थुनेर सुरुङ मार्फत पठाइएपछि बाँध निर्माण कार्य प्रारम्भ भएको हो ।
भुलभुलेको ङादीमा आयोजित कार्यक्रममा चिनियाँ दूतावासका सहायक प्रमुख चेङ जी, सिनो हाइड्रो पावर कम्पनीका उपाध्यक्ष यु स्याङ रोङ, विद्युत विकास बोर्डका महानिर्देशक डिल्ली बहादुर शाही र सभासद जमिन्द्रमान घलेले सँयुक्त रुपमा पानी बाँध निर्माणको कार्य प्रारम्भ भएको घोषणा गरेका थिए ।
चिनिया कम्पनी सिनो हाईड्रोको ९० प्रतिशत र नेपालको सगरमाथा हाईड्रोपावर कम्पनीको १० प्रतिशत लगानीमा निर्माण भैरहेको आयोजनाले ६ महिनाभित्र बाँध निर्माणको काम पूरा गर्ने जनाएको छ ।
भूलभूले ५ ङादीमा बाँध बाँधेर ६ दशमलब ५ किलोेमिटर सुरुङबाट भुलभूलेकै वडा नम्बर ३ को मस्र्याङदी तटमा निर्माण हुने बिद्युत गृहमा खसलिने आयोजनाले जनाएको छ
विद्युत विकास बोर्डका महानिर्देशक डिल्लीबहादुर शाहीका अनुसार अबको २५ महिनाभित्र आयोजना निर्माण कार्य पूरा हुनुपर्ने छ ।
आयोजनामा अहिले चिनियाँ र नेपाली गरी ५ सय कर्मचारी तथा मजदुर कार्यरत रहेको र केही दिनमा २५० कामदार थप्ने योजनामा रहेको जनाएको छ । रन अफ द रिभर प्रविधिमा बन्न लागेको उक्त आयोजना निर्माणका लागि झण्डै १० अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।
युवराज श्रेष्ठ, लमजुङ

