थप समाचारशुक्रबार, पौष ५, २०७०

सम्पन्न घाँसी

हिमालखबर

बामदेव खनालले घाँस खेती थाल्दा घाँस बेचेरै पैसा कमाइन्छ भनेर पत्याउने कमै थिए। व्यावसायिक पशुपालन शुरू भएपछि उन्नत जातका घाँसको माग बढ्यो । त्यसपछि घाँस र घाँसकै बिरुवा बिक्री गर्ने व्यवसायले गति लिन थालेको ६० वर्षीय खनाल बताउँछन् । “पशु कार्यालयले घाँस र घाँसका बिरुवा किन्न थालेपछि व्यवसाय राम्रो भएको हो”, खनाल भन्छन्।

अहिले उनीकहाँ देशका विभिन्न भागबाट किसान तथा सरकारी/गैरसरकारी संघसंस्था घाँसको बिरुवा लिन आउँछन्। गत वर्ष घाँसका बेर्ना बेचेर रु.१५ लाख लिएका उनले यो वर्षको गर्मीमा पनि रु.१० लाखका बिरुवा बेचे।

शुरूमा १७ रोपनी बारीमा घाँसका बिरुवा रोपेका उनले अहिले ७० रोपनी जमीन भाडामा लिएर खेती गरेका छन्। फाइदा राम्रो हुन थालेपछि उनले ५ रोपनी धानखेतमा पनि घाँसकै बेर्ना रोपेका छन्। “धान रोपेको भए दुई महीना छाक टार्न मुश्किल पर्थ्यो, घाँसबाट रु.४ लाख आम्दानी हुन्छ”, खनाल भन्छन्।

घाँस खेती गर्दा धान खेती जस्तो दुःख नहुने उनको भनाइ छ। गोडमेल र सिंचाइ कम भए पुग्ने र एकपटक रोपेपछि मल र केही चिस्यान दिने हो भने उत्पादन गतिलो हुने उनी बताउँछन्।

२०५६ देखि खनाललाई घाँसखेती गर्न सघाएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख बाबुराम जमरकट्टेल खनाललाई मुलुककै नमूना कृषक भन्न रुचाउँछन्।

“उहाँको फर्ममा जस्तो घाँस खेती नेपालमा कसैको छैन”, कट्टेल भन्छन्, “अवलोकन भ्रमण र वेर्ना खरीद गर्न उनीकहाँ घुईंचो लाग्ने कारण त्यही हो।” खनालले उत्पादन गरेका घाँसका बिरुवा झापादेखि डडेलधुरासम्म पुगेको पनि उनी बताउँछन्।

कृषि मन्त्रालयबाट उत्कृष्ट कृषक पुरस्कार पाएका उनको व्यवसाय सफल हुन थालेपछि वैदेशिक रोजगारीमा मलेशिया गएका उनका छोरा विनोद फर्केका छन्। “घाँसबाट कमाइ होला भन्ने नलागेर मलेशिया गएको थिएँ” विनोद भन्छन्, “त्यहाँभन्दा यहीं धेरै कमाइ हुने देखेर फर्किएँ।” विनोदका तीन दाजुभाइ पनि घाँस खेती गर्न बुवालाई सघाइरहेका छन्।
पवन पौडेल, तनहूँ

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>