समाचारशुक्रबार, पौष ५, २०७०
सबैको चित्त बुझाउन गाह्रोः कमल थापा
समानुपातिक तर्फ राप्रपा नेपालले पाएको २४ सिटमा केन्द्रीय नेताका आफन्तहरुलाई सिफारिस गरेको, पार्टी विधान र सहमति विपरित नामहरु सिफारिस भएको, पार्टीमा योगदान दिएकाहरुलाई बेवास्ता गरिएको केही केन्द्रीय सदस्यहरुले आरोप लगाउँदै आएका छन् ।
तर, पार्टी अध्यक्ष थापाले २४ सिटमा सबैको चित्त बुझाउन नसकिने भन्दै सिफारिस गर्दा सदस्यहरुले संविधानसभामा खेल्ने भूमिकालाई आधार बनाइएको र त्यसले पार्टीको दीर्घकालिन हित हुने दाबी गरेका छन् ।
उनले सिफारिसको विरोधमा हालसम्म पार्टी कार्यालय वा अध्यक्ष समक्ष कुनै उजुरी नपरेको पनि प्रष्ट पारेका छन् ।
अध्यक्ष थापाले समानुपातिकतर्फ सिफारिस गरिएका नामहरुसम्बन्धमा फेसबुकमार्फत दिएको स्पष्टिकरणः
राप्रपा नेपालको तर्फबाट २४ जना समानुपातिक उमेदवारहरुको नाम निर्वाचन आयोगमा शिफारिस गरिएको बिषयलाई लिएर बिभिन्न संचार माध्यमहरुमा आएका समाचार र टिप्पणी हरुका सम्बन्धमा देहाय बमोजिम स्पष्ट पार्न चाहन्छुः
क. उपरोक्त शिफारिस चित्त नबुझेको बारे पार्टी कार्यालय वा अध्यक्ष समक्ष कुनै बिरोध पत्र वा उजुरी परेको छैन।
ख. निर्वाचन आयोगमा पेश गरिएको शिफारिस प्रचलित कानुन र पार्टीको विधान सम्मत रहेको छ।
ग. २४ वटा मात्र सिट प्राप्त भएको हुंदा सबैलाई चित्त बुझाउन संभव थिएन । केही कमि कमजोरी देखियता पनि यथासंभव पार्टिको बृहत्तर हितलाई ध्यानमा राखी निर्णय गरिएको छ।
घ. अहिले को परे भन्दा पनि भविष्यमा संबिधानसभामा पार्टीले खेल्ने भूमिकालाई मूल्यांकन गरि दिनु हुन अनुरोध गर्दछु ।
ङ. निर्वाचन आयोगबाट माग भए बमोजिम सबै विधि र प्रकृया पूरा गरिनेछ ।
च. केहि असंतुष्ट व्यक्तिहरूले पार्टी हितमा आघात पुग्ने गरि भएका सबै कृयाकलापहरु तत्कालै बन्द गरेर पार्टीको औपचारिक निकाय मार्फत समस्याको समाधान खोज्न आग्रह गर्दछु ।पार्टि बलियो भयो भने भोलिका दिनमा सबैले मौका पाउने नै छन्। राष्ट्रको चौथो शक्तिको रूपमा उदाएको राष्ट्रवादी शक्ति राप्रपा नेपाललाई कमजोर पार्न बिभिन्न शक्ति केन्द्रहरु सकृय रहेको तथ्यलाई ध्यान दिन पनि म पार्टीका सबै तहका साथीहरुमा अपिल गर्दछु ।
छ. विगतमा पार्टीले गरेका महत्त्वपूर्ण कार्यक्रमलाई कुनै स्थान नदिने केही संचार माध्यमले पार्टीलाई नकरात्मक असर पर्ने यस घटनाक्रमलाई उच्च महत्वका साथ प्रस्तुत गरि दिएकोमा धन्यवाद दिन चाहन्छु।
ज. हाल देखा परेका केहि विवादले पार्टीको लक्ष, बिचार र सकृयतामा कुनै कमि नहुने स्पष्ट पार्न चाहन्छु। साथै यस घटनाक्रमबाट चिन्तित, निराश र बिचलित नहुन सबै कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरुमा सादर अनुरोध गर्दछु । राप्रपा नेपाललाई मतदान गर्ने आमजनतालाई हामी निराश पार्ने छैनौ ।पार्टिको बृहत्तर हित र एकता सदैव अक्षुण्ण रहने छ।
