समाचारबुधबार, साउन १०, २०६९
मंसिरको चुनाव सार्न सकिन्छः सत्तारुढ दल
प्रधानमन्त्री निवास बालुवाटारमा १० साउनमा बसेको माओवादी र मोर्चाका शीर्ष नेताहरू सहभागी बैठकले विपक्षी दलसँगको परामर्शमा अर्को मिति तोक्न पनि सकिने निर्णय गरेको मोर्चाका नेता राजेन्द्र महतोले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका महतोका अनुसार चुनावका लागि आवश्यक कानूनी जटिलता फुकाउन र सहमतिको चुनावी सरकार गठनका विषयमा आजै विपक्षी दलसँग छलफल गर्ने बैठकमा सहमति भएको छ । कांग्रेस र एमालेको ९ साउनमा बसेको संयुक्त बैठकले एमाओवादीसँग ‘निर्णायक’ वार्ता गर्ने निर्णय गरेको भोलिपल्ट उनीहरूले यस्तो सहमति गरेका हुन् ।
त्यस्तै संविधानका विवादित विषयमा सहमति भएको अवस्थामा भने मोर्चा र माओवादीले कांग्रेस नेतृत्वमा सहमतिको सरकार बनाउने विकल्पमा पनि छलफल भएको महतोको भनाइ छ । प्रमुख प्रतिपक्षी दलहरूले कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने माग गरिरहेका बेला सत्तापक्षीय दलको यस्तो धारणा आएको हो ।
