समाचारआइतबार, पौष ७, २०७०

कांग्रेस-एमालेबीच चाँडै संविधानसभालाई पूर्णता दिने सहमति

हिमालखबर

महाराजगन्जस्थित कांग्रेस सभापति सुशील कोइरालाको निवासमा ७ पुस बिहान भएको कांग्रेस र एमालेका शीर्ष नेताहरुबीच भएको छलफलमा समानुपातिक उम्मेदवारको सूची १० गतेभित्रै बुझाउने सहमति भएको हो ।

संविधानसभाप्रति असन्तुष्ट रहेका सबै राजनीतिक दललाई समेटेर चाँडोभन्दा चाँडो संविधानसभालाई पूर्णता दिने सहमति पनि दुई दलबीच भएको छ । दुई दलबीच राजनीतिक सहमतिका विषयमा पछिल्लो पटक भएको तीन बुँदे सहमतिका आधारमा अघि बढ्ने पनि सहमति भएको छ ।

निर्वाचन परिणाम अाए लगत्तै २२ मंसीरमा कांग्रेस र एमालेबीच निर्वाचनबाट प्राप्त परिणामलाई सम्मान गर्दै राजनीतिक अभिभारालाई आपसी समझदारीका साथ पूरा गर्ने, एमाओवादीलगायत सवै राजनीतिक दलहरुसँग सहमतिका लागि वार्ता र संवाद तत्काल गर्ने, जनमतअनुसार संविधान र सरकार सबै विषयमा दुवै दल मिलेर जाने सहमति भएको थियो ।

पछिल्लो समयमा शक्ति सन्तुलनमा दलहरुबीच मतान्तर देखिन थालेपछि अहिले पुन: दुवै दलका शीर्ष नेताहरुबीच बैठक बसी २२ मंसीरको सहमतिका आधारमा अघि बढ्ने निर्णय भएको हो ।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले आयोगले तोकेको समयभित्रै समानुपातिक उम्मेदवारको नामावली बुझाउने र चाँडै संविधानसभालाई पूर्णता दिने सहमति भएको बताए । “सत्ता समीकरणका विषयमा भने कुनै छलफल भएन,”  उनले भने ।

पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी गर्ने विषयमा दलहरुबीच सहमति भइसकेको र त्यही सहमतिमा टेकेर निकास खोजिने भएकाले एमाओवादीले पनि पनि तोकिएकै समयभित्र समानुपातिक उम्मेदवारको नामावली बुझाउने दाबी गरे ।

छलफलमा काँग्रेस सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला तथा एमाले अध्यक्ष छलनाथ खनाल, उपाध्यक्ष विद्यादेवी भण्डारी, नेता केपी शर्मा ओली र रघुजी पन्तको सहभागिता थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>