समाचारआइतबार, पौष ७, २०७०
‘एमाओवादी नआए पनि अघि बढिन्छ’
काठमाडौंमा रिपोर्टस क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले एमाओवादीले नबुझाए पनि १० पुसभित्र समानुपातिकतर्फका सभासदहरुको सूचि १० पुसभित्रै बुझाइसक्ने र त्यसपछि म्याद नथपिने बताएका छन् ।
एमालेका सचिव शंकर पोखरेल भने, “एमाओवादी नआए पनि १० गतेभित्र समानुपातिककोे सूची बुझाइन्छ, अब म्याद थपियो भने त्यो एमाओवादीको नभई कांग्रेस र एमालेको कमजोरी हुनेछ ।”
उनले एमाओवादीले निर्वाचन सम्पन्न भएको ३६ घन्टापछि धाँधली भयो भनेर नाटक गरेको भन्दै छिटै संविधान सभालाई पूर्णता दिएर संविधान निर्माणको बाटोमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरे ।
साक्षात्कारमा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले एमाओवादी नआए पनि संविधानसभाको कामकारबाही नरोकिने बताए ।
एमाओवादीले राखेका मागबारे छलफल गर्न कांग्रेस तयार रहेको भन्दै उनले एमाओवादीले माग भने जस्तो छानबिन समिति संविधानसभाभित्रैबाट बनाउनुपर्नेमा जोड दिए ।
एमाओवादीका नेता शक्तिबहादुर बस्नेतले बृहत् शान्ति सम्झौताअनुरुप चल्न अन्य दल तयार भए आफूहरुले १० पुस भित्रै संविधानसभामा समानुपातिक सभासद्को सूची पठाउने जानकारी दिए । उनले १० गतेअघि नै दलहरुबीच सहमति हुन आवश्यक रहेको बताएका थिए ।
आजै भएको एमाले र एमाओवादी शीर्ष नेताहरुको छलफलमा एमाओवादीले निर्वाचनमा धाँधली भएको भन्दै छानविन आयोग गठन नभएसम्म समानुपातिकतर्फका सदस्यहरुको सूची निर्वाचन आयोगमा नबुझाउने बताएको थियो ।
