थप समाचारमंगलबार, पौष ९, २०७०
एके–४७ राइफलका आविश्कारक रहेनन्
एके–४७ राइफलको प्रयोगबाट विश्वमा अन्य बन्दुकहरुभन्दा बढी मानिस मारिएका छन् । दोस्रो विश्वयुद्धपछि रुसी सेनामा कार्यरत मिखाइल क्लाश्निकोव युवा अवस्थामा छँदै एके–४७ को डिजाइन गरेका थिए । उनको निधन रुसको राजधानी मस्को नजिकै रहेको गृह नगरस्थित अस्पतालमा सोमबार भएको अमेरिकी पत्रिका एनवाइ टाइम्सले उल्लेख गरेको छ ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार मस्को अस्पतालमा केही महिनाअघि भर्ना भएका उनको मुटुमा समस्या देखिएपछि पेसमेकर राखिएको थियो ।
रुसमा अहिले पनि प्रहरी र अन्य सशस्त्र समूहहरुका लागि एके –४७ प्रिय हतियार हो । याे विश्वका अधिक देशहरुमा सरकारी सुरक्षा निकाय र गुरिल्ला युद्ध गर्नेहरुले समेत प्रयोग गरिरहेका छन् । एके–४७ र यसकै नक्कल गरेर बनाइएका हतियारहरु दशकौंदेखि विश्वका द्वन्द्वग्रस्त क्षेत्रहरुमा प्रयोगमा आइरहेका छन् ।
अन्य राइफलहरुभन्दा साधारण, निर्माण र मर्मतसम्भारमा पनि सजिलो र राम्रो मारक क्षमता भएकोले यस्को लोकप्रियता लडाकु र सुरक्षाकर्मीहरुमा बढेको हो ।
क्लाशनिकोवको जन्म रुसको पश्चिमी साइबेरियामा १० नोभेम्बर १९१९ मा भएको थियो ।
एसल्ट राइफल लिएर लडिरहेका जर्मनी सेना सँगको युद्धमा रुसी सैनिकहरुले कठिनाई ब्यहोरेपछि त्यसबेला अस्पतालमै रहेका क्लाश्निकोवले एके–४७ को डिजाइन गरेका थिए । उनले सन् १९४७ मा आफ्नै नामबाट क्लाश्निकोव राइफलको विकसित मोडेल तयार पारे र नाम दिइयो एके–४७ ।

