समाचारबुधबार, पौष १०, २०७०
समानुपातिक सूची बुझाउने म्याद पाँच दिन थप
प्रमुख तीन दलसहित ८ दलका नेताहरुको आग्रह अनुसार निर्वाचिन आयोगले समानुपातिकतर्फबाट निर्वाचित हुने संविधानसभा सदस्यहरुको नाम सिफारिसका लागि १५ पुससम्म म्याद थप गरेको आयोगका प्रवक्ता बीरबहादुर राईले जानकारी दिएका छन् ।
आयोगले १० पुससम्म नामावली पेस गर्ने समयसीमा निर्धारण गरेको थियो ।
संविधानसभा निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको एमाओवादी समानुपातिक सूची बुझाउन सहमत भएपछि दलहरुको आग्रह अनुसार अन्तिम पटक म्याद थपिएको आयोगले जनाएको छ ।
यसअघि एमाओवादीले निर्वाचनमा धाँधली भएको दाबी गर्दै छानविन आयोग गठन नभएसम्म समानुपातिकतर्फको सूची बुझाउन अस्वीकार गरेको थियो । तर, ९ पुसमा ८ दलबीच निर्वाचन प्रक्रियासम्बन्धी छानविनका लागि संसदीय समिति गठन गर्ने सहमति भएपछि एमाओवादीले सूची बुझाउने भएको हो ।
यद्दपी नेपाली कांग्रेस र एमालेसहितका दलहरुले पनि अझै सूची बुझाउन सकेका छैनन् ।
