थप समाचारबुधबार, पौष १०, २०७०
लोभ गर्दा जेल
-माधव बराल
भक्तपुर गट्ठाघरमा तरकारी बेचेर गुजारा चलाइरहेकी नुवाकोट ककनी―२ की आशमाया लामा (४६) लाई तरकारी किन्न आउने प्रकाश नामका व्यक्तिले ‘मिलेर जग्गाको कारोबार गर्दा लखपति बनिने’ आश्वासन दिए। छिट्टै लखपति बन्ने सपना देखेर उनले ‘पोखराको करोडौं रुपैयाँ पर्ने जग्गा बिक्री गर्न’ प्रकाशलाई आफ्नो फोटो पनि दिइन्। प्रकाशले चितवनको भरतपुर–९ की शान्ता राणाको नाम र उनको तस्वीर राखेर नक्कली नागरिकता बनाए।
२१ वर्षदेखि अमेरिकामा बस्दै आएकी शान्ताको पोखरा, लेकसाइडमा रहेको जग्गा बिक्री गर्ने योजना अनुसार यसरी नागरिकता बनाइएको थियो। नक्कली शान्ता राणा बन्दा केही डर लागे पनि लखपति बन्ने लोभमा आशमायाले प्रकाशले भने अनुसार गर्दै गइन्। त्यही नक्कली नागरिकता देखाएर उनले वडा कार्यालय, नगरपालिका र मालपोत कार्यालयबाट जग्गाधनी पुर्जाको प्रतिलिपि बनाइन्। त्यसपछि उनीहरूले असोज २०६८ मा कित्तानम्बर २६८१ को १४ आना एक पैसा जग्गा बबिता कार्कीलाई रु.७० लाखमा बेचे। आशमायाले त्यसबाट रु.५ लाख पाइन्।
यसैबीच, छिमेकीले जग्गा मिचेको सुनेर वास्तविक शान्ता राणा नेपाल आइपुगिन्। नेपाल आउनासाथ जग्गा बिक्री भएको थाहा पाएपछि उनले प्रहरीमा उजुरी दिइन्। प्रहरीले नक्कली शान्ता राणा बनेकी आशमायालाई भदौ २०६९ मा पक्राउ गर्यो। कास्की जिल्ला अदालतले मुद्दा किनारा नलाग्दासम्म पुर्पक्षका लागि थुनामा राख्न पुस २०६९ मा आदेश दिएकाले आशमाया थुनामा छिन् भने फरार प्रकाशको प्रहरीले खोजी गरिरहेको छ। आशमायाकै छोरी सुषमा, नगरपालिका, मालपोत र सम्बन्धित वडा कार्यालयका सचिव भने धरौटीमा छुटेका छन्।
अर्को ठगी
काठमाडौं बौद्धमा डेरा लिएर प्लम्बर काम गर्ने काभ्रेपलान्चोक वाङथली–२ का कृष्णबहादुर श्रेष्ठ (५३) मौका पर्दा जग्गा खरीदबिक्रीको काम पनि गर्थे। त्यही क्रममा भेटिएका जग्गाको कारोबारी भुपाल तामाङले “पोखरामा नयाँ जग्गा दर्ताको काम छ, फोटो लिएर जाँदा पाँच/पाँच लाख फाइदा हुन्छ” भन्नासाथ उनी पोखरा हिंडे।
पोखरामा भुपालका साथी राजन सापकोटाले कृष्णबहादुरलाई ‘जाल्पा रोडमा एक करोड पर्ने जग्गाको धनी रंगप्रसाद श्रेष्ठसँग तपाईंको अनुहार मिल्छ, ऊ यहाँ नबस्ने भएकाले उसको जग्गा बिक्री गर्न सकिन्छ’ भने। छिट्टै पैसा कमाउने लोभले उनले भुपाल र राजनलाई आफ्नो फोटो पनि दिए। त्यो फोटो राखेर २०५४ मा स्याङ्जाबाट जारी भएको रंगप्रसाद श्रेष्ठको किर्ते नागरिकता बन्यो। जसलाई प्रयोग गरेर उनीहरूले २१ असोज २०७० मा रत्नप्रसाद खत्रीलाई पोखरा―८ जाल्पा रोडको कित्तानम्बर १०७ को ११ आना जग्गा रु.९५ लाखमा बिक्री गरे। कृष्णबहादुरको भागमा रु.२२ लाख ७५ हजार पर्यो।
किर्ते नागरिकता प्रयोग गरेर जग्गा बिक्री गरेको थाहा पाएपछि प्रहरीले यही मंसीरमा कृष्णबहादुरलाई पक्राउ गर्यो। कास्की जिल्ला अदालतले मुद्दा किनारा नलाग्दासम्म थुनामा राख्न १४ मंसीरमा आदेश दिएपछि उनी र ठगीमा संलग्न अनिता शर्मा जेल सजाय भोगिरहेका छन्। यो घटनामा संलग्न २१ जना विरुद्ध प्रहरीले मुद्दा दायर गरेको थियो, जसमध्ये नगरपालिका र मालपोतका कर्मचारी पनि छन्।
साप्ताहिक खबरपत्रिका हिमालबाट



