थप समाचारबुधबार, पौष १०, २०७०
सकसमा ‘साना गुरु’
सेतो धोती, रातो कुर्ता, कपाल खौरिएको टाउको र लामो टुप्पी भएका ‘पण्डित’ को चित्र कोर्दा आनन्द मान्ने कविराज जोशी आफू त्यस्तै बन्नुपर्दा भने दुःखी छन्। अछामको वैद्यनाथ वेद विद्याश्रममा कक्षा ७ मा पढिरहेका कविराज (१२) भन्छन्, “हिंडडुल गर्न गाह्रो भए पनि स्कूलको नियम अनुसार धोती–कुर्ता लगाउनै पर्छ।”
कक्षा ५ सम्म सामान्य स्कूलमा पढेका बाजुरा घर भएका उनी दाइसँगै धनगढीको स्कूलमा पढ्न चाहन्थे। तर, ब्राह्मण संस्कृति जोगाउन छोरालाई वैदिक शिक्षा दिलाउने बुवाको चाहनाको अघि उनको केही लागेन। छात्रावासमा माछामासु, लसुन, प्याज खान नपाउने, विद्याश्रम बाहिर जान र बाहिरका मानिससँग संगत गर्न नपाइने जस्ता कडा नियमका कारण कविराजको मन आश्रममा अडिएको छैन।
बाध्यताको पढाइ
सुदूरपश्चिमवासीले मनोकांक्षा पूरा गर्ने देवता मान्ने वैद्यनाथ मन्दिरभित्र रहेको सरकारी स्वीकृति प्राप्त वेद विद्याश्रममा ६ देखि ८ कक्षासम्म पढाइ हुन्छ।
२२ जना विद्यार्थी रहेको यो विद्याश्रममा संस्कृत भाषा, व्याकरण, रुद्री, वेद र कर्मकाण्ड पढाइन्छ। संसारकै समृद्ध मानिने संस्कृत भाषा पढाइने विद्याश्रमको वातावरण भने रुखो छ।
त्यही कारण विद्याश्रममा मन नबसेको बताउँदै ६ कक्षाका विद्यार्थी नारायणप्रसाद उपाध्याय भन्छन्, “अरू स्कूलमा पढ्दा रमाइलो हुने हुँदा स्कूल जाउँजाउँ लाग्थ्यो, यहाँ त बस्न नै मन लाग्दैन।” बाजुरामा रहेको घर नजिकैको महेन्द्र उमाविमा ५ कक्षासम्म पढेका नारायणका दुई दाइहरू भने धनगढी र काठमाडौंका निजी स्कूलमा पढ्दैछन्।
ब्राह्मण जातका बालकहरू मात्र पढ्ने विद्याश्रमको वातावरण कतिसम्म रुखो छ भने मौका पाउनासाथ विद्यार्थीहरू भागिहाल्छन्। चार पटक विद्याश्रमबाट भाग्ने कोशिश गरेका ६ कक्षामा पढ्ने डम्बरराज जोशी भन्छन्, “चारै पटक बाटो नदेखेर फर्किनु पर्यो। घर जाने बाटो देखें भने फेरि पनि भाग्छु।”
यो वर्ष भर्ना भएका २८ मध्ये ६ जना विद्याश्रमबाट भागिसकेका छन्। विद्याश्रमका अनुसार ६ कक्षामा १३ तथा सात र आठ कक्षामा ५/५ जना विद्यार्थी छन्। गत वर्ष ६ कक्षामा ११ जना भर्ना भएकोमा अहिले ५ जना मात्रै बाँकी छन्। यसैगरी, ६ कक्षामा १७ जना भर्ना भएकोमा आठ कक्षामा पुग्दा ५ जना मात्रै बाँकी रहे।
विद्यार्थीका लागि बिहान साढे ४ बजे उठ्नुपर्ने, राति ९ बजेअघि सुत्न नपाइने, जाडोमा पनि धोती लगाएरै बस्नुपर्ने, भाँडाकुँडा, सुत्ने कोठा, कक्षाकोठा, करेसाबारी, मन्दिरको सरसफाइ गर्नुपर्ने, विद्याश्रममा पालिएका गाईका लागि घाँस काट्नुपर्ने जस्ता कडा नियम छन्। मन्दिर र नजिकका गाउँमा पूजापाठ गर्न पनि उनीहरू नै जानुपर्छ।
विद्याश्रमको कडा नियमका कारण धेरै विद्यार्थी टिक्न नसकेर भाग्ने गरेको शिक्षक भोजराज भण्डारी पनि स्वीकार्छन्। मन लागेको वेला विद्यार्थीले घर समेत जान नपाउने बताउँदै भण्डारी भन्छन्, “दशैं, तिहार, हिउँदे, बर्खे तथा अन्य विदाहरूमा पनि विद्यार्थीलाई घर जान नदिएर विद्याश्रमको काममा खटाइन्छ।”
प्रधानाचार्य पदमराज भण्डारी चाहिं कहिलेकाहीं ‘मिलाएर’ विदा दिने गरिएको दाबी गर्छन्। भण्डारी भन्छन्, “नियम कानून अनुसार नगर्दा विद्यार्थी बिग्रने हुनाले कडाइ गरेका हौं; धर्म, संस्कृति जोगाउन योभन्दा अर्काे उपाय पनि छैन।”
बच्चु विक, धनगढी
