समाचारबिहीबार, पौष ११, २०७०
भ्रष्टाचारको कुरा उठेपछि एमाओवादी निर्वाचानमा गएको गजुरेलको दाबी
११ पुसमा बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोहन वैद्य नेतृत्वको माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीले लडाकुका नाममा राज्यकोषको ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको र त्यसको खोजी शुरु हुनथालेपछि मात्रै एमाओवादी निर्वाचनमा सहभागी भएको दाबी गरेका छन् ।
“११ अर्ब भ्रष्टाचारको खोजी हुन थालेपछि लम्पसार परेर एमाओवादी निर्वाचनमा सहभागी भएको हो,” संविधानसभा निर्वाचन बहिस्कार गरेको नेकपा–माओवादीका उपाध्यक्ष गजुरेलले भने ।
निर्वाचनमा हार ब्यहोर्ने एमाओवादीलाई पहिले नै थाहा भए पनि भ्रष्टाचारको कुरा उठेपछि ‘डरले लम्पसार परेर’ निर्वाचनमा सहभागी भएको गजुरेलले आरोप लगाए ।
संविधानसभा भंग गर्न माग
उनले अहिलेको संविधानसभाले पनि संविधान जारी गर्न नसक्ने र यदि जारी गरे पनि २०४७ सालकै संविधानको पुनरावृत्ति हुने दावी गर्दै संविधानसभा भंग गर्न माग गरेका छन् ।
उनले संविधानसभाले संविधान जारी गरे पनि आफूहरुले नमान्ने भन्दै बरु संविधानसभा बाहिरबाटै आफूहरुले नयाँ संविधान जारी गर्ने समेत दाबी गरे ।
संविधानसभामा सहभागी दलहरुप्रति निकै आक्रोशित रुपमा प्रस्तुत भएका गजुरेलले आफ्नो पार्टीको आह्वानमा ठूलो जनसंख्याले मतदाता नामावलीमा नाम नै दर्ता नगराएको दावी गर्दै ८० प्रतिशत मतदान भएको निर्वाचन आयोगको भनाईको खण्डन समेत गर्न भ्याएका थिए ।
दीपक ज्ञवाली, बुटवल
