थप समाचारबिहीबार, पौष ११, २०७०
अख्तियारले बिगारेको ब्यवसाय
विवाहको लगनका बेला भरिभराउ रहने वीरगञ्जका धर्मशाला र अतीथि सदनहरु अहिले लगनको समयमा पनि रित्तो देखिएका छन् । मारवाडी र मधेशी समूदायमा केटाकेटी दुवै पक्षले धर्मशाला र अतिथी सदनहरुमा धुमधामसँग विवाह गर्ने गर्थे । अहिले भने ६० प्रतिशतले बुकिङ घटेको ब्यवसायीहरु बताउँछन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विवाहमा तडक–भडक नगर्न र ५१ जना भन्दा बढी जन्ति नजान निर्देशन जारी गरेपछि वीरगञ्जमा वैवाहिक समारोह आयोजना गर्ने कारोवारीहरुको कारोबारमा ६० प्रतिशतले कमी आएको नारायणी क्याटरिंगका सञ्चालक रमेश जटियाको भनाई छ ।
यहाँका मारवाडी र मधेशी समूदायको विवाहमा केटा वा केटी मध्ये एउटा पक्ष धेरै जसो भारतीय हुने हुँदा भारतबाट आउने पक्षले समेत यहाँका अतिथी सदन, धर्मशाला, क्याटरिंग, ब्याण्ड र सजावट सेवा उपयोग गर्ने गरेका थिए । जसले गर्दा शहरको ब्यवसाय विहेको सिजनमा चम्किन्थ्यो ।
विवाहमा धर्मशालाको बुकिङ र जन्तीमा कमी आए पनि दाइजो र तिलकमा कमी आएको भने होइन । अतिथी सदन र धर्मशालमा हुने विवाह अब विस्तारै घर कम्पाउण्डमा सीमित भए पनि रकमको खर्चमा भने कमी नआएको स्थानीय बताउँछन् ।
व्यवसायी जटियाका अनुसार भारतबाट बिहेकाालागि आउने एउटा पार्टीले कम्तिमा पनि १० लाख रुपैंया खर्च गर्छ र यस्तो विवाह लगनको महिनामा ६० देखि ८० वटा सम्म हुने गथ्र्यो भने अहिले त्यसमा ६० प्रतिशतले कमी आएको छ ।
भारतबाट आउनेहरुमात्रै होइन स्थानीयले समेत धर्मशाला र अतिथी सदनमा विवाह समारोहको आयोजना गर्न छोडेका छन् ।
स्थानीय प्रशासनले विवाहमा कुनै रोकटोक नगर्ने भनेर हौसला दिए पनि भारतबाट आउने पार्टीहरु डराएर आउन नमानेको जटियाको भनाई छ ।
बिम्मी शर्मा, वीरगञ्ज
