थप समाचारशुक्रबार, पौष १२, २०७०
बाबु जेलमा, आमा अर्कैसँग, सन्तानको विचल्ली
रुकुम खोलागाउँ–९ मानकोटका प्रेम परियार तीन वर्षदेखि जेल परेका छन् । परियार जेल परेपछि उनकी पत्नीले ४ सन्तानलाई अलपत्रै छोडेर दुई वर्षअघि दोस्रो विवाह गरिन् । अहिले १२ वर्षका मनोज, १० वर्षकी रुपा, ८ वर्षका दीपक र ६ वर्षका रवि परियार के खाउँ के लाउँको स्थितिमा छन् ।
सम्पति केही नभएको परियार बालबालिकालाई खानलाउन नै धौधौ भएपछि उनीहरु स्कुल जाँदैनन् । अहिले गाउँमै काम खोजेर साँझ बिहानको गर्जो टार्ने गरेका बालबालिका कुनै दिन भोकभोकै बस्ने गरेको स्थानीय शेरप्रसाद ढकालले बताए ।
जिल्लामा बालबालिकाका लागि काम गर्ने एक दर्जनभन्दा वढी सरकारी तथा गैरसरकारी संस्था छन् तर, यी बेसहारा बालबालिकाको उद्दारका लागि कोही अघिसरेका छैनन् ।
लक्ष्मण केसी, रुकुम
