समाचारशनिबार, पौष १३, २०७०
‘कम्युन’ ले कंगाल
२३ भदौ २०६१ मा हिंसात्मक द्वन्द्व उत्कर्षमा पुगेको वेला माओवादीले रुकुमको प्वाङ गाविसको छिपखोलामा स्थापना गरेको ‘बलिदान जनकम्युन’ मा बस्ने रुकुमका दर्जन परिवार अहिले पाटीमा बास बस्नुपर्ने बनेका छन् ।
घरबारी बेचेर कम्युन गएका उनीमध्ये केही रोजीरोटीका लागि परिवारसहित भारत पलायन भएका छन् भने केही गाउँमै बिचल्ली परेका छन् ।
पूर्वी रुकुमको प्वाङ–६ की अमृता बोहरा (३२) को परिवारले १० वर्षअघि घरजग्गा र बस्तुभाउ बेचेर आएको रु.८० हजार कम्युनमा बुझएको थियो । त्यसरी ‘कम्युन’ छिर्दा माओवादीबाट फूलमाला र अबिरले स्वागत पाएपछि उनीहरूले जीवनभर कम्युनमै बस्ने कसम खाएका थिए ।
द्वन्द्वकालमा कम्युनको बसाइँ राम्रै भए पनि शान्ति प्रक्रिया शुरू भएपछि नेताहरू शहर र सदरमुकाम बस्न थालेकाले त्यहाँ बस्नेहरू विरक्तिएर लाखापाखा लाग्न थाले ।
तर, सम्पूर्ण जायजेथा कम्युनमा बुझएको अमृताको परिवार भने कतै जान सकेन । कम्युन घर पनि भत्केपछि बस्ने ठाउँ कतै नपाएको त्यो परिवार वाईसिएलका केन्द्रीय अध्यक्ष गणेशमान पुनको घरमा बस्न थालेको छ । द्वन्द्वका वेला १२ परिवारका ६४ जना बस्ने कम्युनमा अहिले अमृताको चार जनाको परिवार मात्र बाँकी छ ।
“हाम्रो जाने ठाउँ नभएकाले गणेशमानको घरमा ओत लाग्नुपर्यो” अमृता भन्छिन्, “माओवादीले देखाएका ठूला सपनालाई विश्वास गरेर सम्पत्ति बेच्दा अहिले कंगाल हुनुपर्यो ।” पहिले कम्युनकै सदस्य रहेको पुनको परिवार अहिले काठमाडौंमा बस्छ । अमृताको परिवारसँग भने अहिले सम्पत्तिको नाममा एक हल गोरु मात्र छन् ।
कम्युनले कङ्गाल बनाएको प्वाङ–९ का गणबहादुर दमाईको परिवार मजदूरीको लागि भारत लागेको छ भने द्वन्द्वकालमा प्रहरीबाट बच्न घर र आधा खेत बेचेर कम्युन प्रवेश गरेको साँख गाविसका बिनकुमारी बुढाको परिवार कम्युनमा अव्यवस्था बढेपछि आफ्नै गाउँ फर्केको छ ।
कम्युनले चलाएको सहकारी किराना पसल घाटामा गएपछि एक वर्षमै बन्द भएको थियो भने केहीले कम्युनका खसीबाख्रा बिक्री गरेर सम्पत्ति असुल गरे पनि धेरै रित्तोहात निस्कन बाध्य भए ।
कमल थापा, रुकुम
साप्ताहिक खबरपत्रिका हिमालबाट । विस्तृत रिपोर्टका साथै अन्य धेरै रोचक सामाग्रीहरु हिमालको नयाँ अकमा । आइतबारदेखि बजारमा उपलब्ध छ ।


