समाचारआइतबार, पौष १४, २०७०
एमाओवादीमा समानुपातिकको जिम्मा हेडक्वार्टरलाई
पार्टी मुख्यालय कोटेश्वरमा १४ पुसमा बसेको एमाओवादी केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगले दिएको समयसीमा १५ पुसभित्र सूची तयार पार्ने जिम्मा केन्द्रीय कार्यालयलाई दिएको छ ।
बैठकमा समानुपातिकबाट सभासद बन्ने आकांक्षीहरु बढेपछि सूचीको टुङ्गो लगाउन नेताहरुलाई अप्ठेरो परेको थियो । नेताहरुबीच आफ्नो समूहकालाई सभासद् बनाउने सक्रियतासँगै किचलो शुरु हुन थालेपछि केन्द्रीय समितिले पाँचबुँदे मापदण्ड बनाएर नामावलीको टुङ्गो लगाउन केन्द्रीय कार्यालयलाई जिम्मा दिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले बैठकले बनाएको मापदण्डका आधारमा समाुनपातिक सूची तयार गरिने बताए । सापकोटाले अन्तरिम व्यवस्थापिकादेखि संविधानसभामा सभासद्, मन्त्री भएका र राजनीतिक नियुक्तिमा परेका नेताहरुलाई समानुपातिकतर्फबाट सभासद नबनाइने जानकारी दिए ।
उनले पार्टीमा सक्रिय कार्यकर्ता र संविधानसभामा प्रभावकारी भूमिका निर्वाह गर्ने सदस्यलाई प्राथमिकतामा राखेर सिफारिस गर्ने बताए ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहालले जनमतको कदर गर्न दलहरुबीच चार बुँदे सहमति भएको भन्दै सहमतिले एक वर्षभित्र संविधान जारी गर्ने संभावना बढाएको बताएका थिए ।
समानुपातिकतर्फ १४ लाख ३९ हजार ७२६ मत पाएको एमाओवादीका समानुपातिकतर्फबाट ५४ जना सभासद हुनेछन् । उसले प्रत्यक्षतर्फ भने २६ सिट जितेको छ ।
