समाचारआइतबार, पौष १४, २०७०
जहाजमा गम्भिर बिरामीलाई भन्दा रेडक्रसका हाकिमलाई प्राथमिकता
रारा ताल्चा विमानस्थलमा हवार्ई उडान भर्ने विमानले यात्रुको चापअनुसार उडान नभर्दा जिल्लाबाट काम विशेषले बाहिरी जिल्ला र उपचारका लागि सुविधासम्पन्न स्थानमा जाने बिरामी तथा यात्रुले सास्ती व्यहोर्नुपरेको छ । मुगुबाट नेपालगन्ज र सुर्खेत जानका लागि ताल्चा विमानस्थल पुगेका हवाई यात्रुले मात्र नभई बिरामीले समेत टिकट नपाउँदा पैदलबाट जुम्ला तथा मालबाहक गाडीको यात्रा गर्नु परिरहेको छ ।
तीन महिनाअघि जिल्ला अस्पताल मुगुमा शल्यक्रियामार्फत सुत्केरी भएकी कार्कीवाडा गाविस–७ कि शान्ति विटालुको अवस्था गम्भीर छ । जिल्ला अस्पतालले सिफारिस गरेपछि तीन दिनदेखि उपचार गराउन नेपालगन्ज जान विमानस्थल पुगे पनि विटालुलाई हवाई टिकट दिइएको छैन ।
“म आएको तीन दिन भयो, तीन महिनाको बच्चा पनि चिसोले निमोनिया भएर बिरामी छ, मेरो पेट तथा पाठेघर निकै दुखिरहेको छ”– उनले भनिन, “बिरामीले आफ्नो दुःखेसो पोखिरहँदा जिल्लामा भ्रमणका लागि पुगेका नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय कोषाध्यक्ष भक्त खवासको सात सदस्य टोलीलाई दुईतर्फी टिकट भएको भन्दै विमानस्थलमा पुग्नेबित्तिकै टिकट दिइयो ।”
ताल्चा विमानस्थल वरपर रहेका होटेलमा एक छाकको रु १५० र एक रातको रु ३०० तिर्नु परेको तथा हप्तौँसम्म पनि टिकट नपाएपछि थप समस्या भएको ललिता सुनारले बताइन ।
नेपालगन्ज, सुर्खेतदेखि यात्रु र सामान नपाएको भन्दै निजी कम्पनीका गोमा एयर, मकालु एयर र काष्ठमण्डप एयरका पिलाटस जहाजले यात्रुका लागि नियमित उडान गर्न छाडेपछि यात्रु हप्तौंदेखि होटेलमा बस्न बाध्य भएको नेपालगन्ज जानका लागि चार दिनदेखि टिकटको पर्खाइमा बसेका सरकारी वकिल नरेन्द्र देवकोटाले बताए ।
रासस
