रमझमसोमबार, पौष १५, २०७०
‘नेपथ्य’को ‘शान्तिको लागि शिक्षा यात्रा’ सम्पन्न
मल्ल राजाहरुले कात्तिक नाच हेर्दै आएको ऐतिहासिक थलोमा १४ पुस साँझ ‘नेपथ्य’को ‘शान्तिको लागि शिक्षा’ सम्पन्न भएको छ । हजारौं दर्शकले भरिएको पाटन दरबार क्षेत्रमा राजधानीका विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिदेखि लिएर सर्वसाधारणसम्म एउटै स्थानमा अटाएका थिए ।
खुला आकाशमुनी झकिझकाउ मञ्चमा जसै ‘सा कर्णाली’को म्यूजिक भिडियो देखाइयो, दर्शकबीच कोलाहल सुरुभइसकेको थियो । त्यसलाई राष्ट्रकवि माधव घिमिरेद्वारा आधा शताब्दीअघि रचित ‘ऐना झ्याल’को म्यूजिक भिडियोले पछ्याएको थियो ।
दरवार क्षेत्रमा सकिनसकी अटाएका दर्शकको चर्को होहल्लाकाबीच स्टेजमा प्रवेश गरेका गायक अमृत गुरुङले ‘नासे छ्यावा मनोह्योला’ बाट गाउन शुरु गरेका थिए । गुरुङ भाषाको सम्बोधनबाट शुरु भए पनि नेपाली शब्दबाटै निरन्तरता पाएको यस गीतमा हिमाल वारि र पारि बस्ने युगल जोडीको सम्वाद समेटिएको थियो । यसरी प्रकृति र प्रेमको समिश्रणबाट शुरुभएको यात्रा ‘नेपथ्य’ले प्रारम्भिक दिनहरुमा गाएको ‘अभाव अभावै भयो’बाट अघि बढ्यो । ‘मिरमिरेमै ब्यूँझिएछु, तिम्रो नाम लिएर’ भन्दै अमृतले दर्शकतर्फ औंला ठड्याउँदा चर्को स्वरमा प्रतिक्रिया आएको थियो ।
अघिल्ला कार्यक्रमहरुमा प्रायः दर्शकमुड चरम अवस्थामा पुग्दा गाइने गरेको ‘नेपथ्य’को बहुचर्चित गीत ‘छेक्यो छेक्यो’ तेश्रो नम्बरमै बज्न थाल्दा हल्ला मात्र नभएर जताततै दर्शक नाच्न पनि थालिसकेका थिए ।
अब भने गायनबाट एकैछिन थामिएर अमृत बोल्न पनि थाले । यसरी पटकपटक दर्शकसँगको वार्तालापमा उनले ‘शान्तिको लागि शिक्षा’ कार्यक्रमको आवश्यकता माथि जोड दिएका थिए । अभियानको रुपमा सन् २००२ देखि ‘नेपथ्य’ले थालेको यो कार्यक्रमको यसपाला पाँचौ श्रृंखला थियो । यसै अन्तर्गत राजधानीको दर्शकसामु प्रस्तुत हुनुअघि टोलीले मुलुकका विभिन्न १० भेगमा आफुलाई प्रस्तुत गरिसकेको छ । यो श्रृंखलाको अन्त्य भने १४ पुसमा भएको छ ।
सम्बोधनका क्रममा अमृतले विद्यालयलाई राजनीति र बन्दबाट मुक्त पार्ने माँग मात्र गरेनन्, शसस्त्र द्वन्द्वका बेला विस्थापित हुनपुगेका ४० हजार वालवालिकालाई शिक्षाको महत्व बारेमा पनि बोलेका थिए ।
‘ति केटाकेटीको पढ्न पाउने अधिकार सुरक्षित पारिनु पर्छ,’ उनको कथन थियो, ‘यसमा राज्यको ध्यान आकर्षित पार्ने मात्र नभइ हामी आफैंले पनि सक्दो योगदान दिन तयार हुनुपर्छ ।’
