समाचारमंगलबार, पौष १६, २०७०
कांग्रेस किचलोः नामावली सच्चाउन आग्रह
पार्टीले आयोगमा पेस गरेको समानुतिक सभासदहरुको नामावलीमा पार्टीको सिद्धान्त र निष्ठामा अविचलित कार्यकर्ताभन्दा शीर्ष नेताका वरिपरि घुमिरहने र उनीहरुका आफन्तहरुकै बाहुल्यता भएको भन्दै नेपाल महिला संघले नामावली सच्चाउन आग्रह गरेको छ ।
संघद्वारा १६ पुसमा काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष डा डिला संग्रौलाले प्रजातान्त्रिक आन्दोलनमा अग्रमोर्चामा खटिएका निष्ठावान कार्यकर्ता पाखा पर्दै जाने र पार्टी भागवण्डा, परिवारवाद, नातावाद, थैलीवाद तथा सुकिला मुकिलाका भरमा चल्दै जाने प्रवृत्ति विकास हुन थालेकामा चिन्ता व्यक्त गरिन् ।
उनले भनिन्, “पार्टीले प्रत्यक्ष निर्वाचनतर्फ महिला सहभागिता बढाउन ध्यान दिएन, समानुपातिक निर्वाचनमा पनि महिला सहभागिता गराउँदा काखा र पाखाको नीति लियो प्रजातान्त्रिक पार्टीमा योभन्दा अर्काे दुर्भाग्य के हुन सक्छ ?”
प्रत्यक्ष निर्वाचनमा नेकाका तर्फबाट २४ जना महिला चुनावी प्रतिस्पर्धामा रहेका थिए । तीमध्ये ६ जनामात्र विजयी भए । सम्मेलनमा संघले समानुपातिकतर्फ विजयी महिला नामावलीमा अधिकांश अघिल्लो संविधानसभाका सदस्य रहेको जनाएको छ ।
संविधानसभामा प्राध्यापक, कानून व्यवसायी, पत्रकार र विषय विज्ञहरुको प्रतिनिधित्व गराउन पार्टी चुकेको भन्दै संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “महिला सहभागिता ३३ प्रतिशत गराउने विषय हात्तीको देखाउने दाँत जस्तोमात्र भयो ।”
पत्रकार सम्मेलनमा संघका केन्द्रीय सदस्य दिव्येश्वरी शाहले समानुपातिक निर्वाचनमा विजयी उम्मेदवारको नामावली छनोट गर्न बसेको संसदीय दल र केन्द्रीय समिति देखावटी मात्र भएको दाबी गरिन् ।
