समाचारमंगलबार, पौष १६, २०७०
‘समानुपातिकको विकल्प सोच्ने बेला भयो’
रिपोर्टर्स क्लब नेपालले १६ पुसमा आयोजना गरेको साक्षात्कारमा नेताहरुले समानुपातिक निर्वाचन प्रणालीले नेताहरुको चाकडी गर्ने प्रथाको विकास गराएकोले यसको औत्यिमा प्रश्न उठेको बताएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले समानुपातिक निर्वाचन प्रणालीले पार्टीप्रतिको इमान्दारी र निरन्तरता भन्दा पनि नेताहरुलाई खुसी पार्नु पर्ने अवस्था उत्पन्न गरेको भन्दै यसलाई खारेज गर्नु पर्ने बताए ।
उनले भने, “अब जनताप्रति उत्तरदायी बनाउने निर्वाचन प्रणाली चाहियो, यसको प्रस्तावक एमाओवादीभित्र पनि अब बहस चल्नुपर्छ ।”
पाण्डेले कांग्रेसभित्र भागबण्डाका कारण पार्टीभित्र काम गरेका, भातृ संगठनका साथै शुभेच्छु संस्थाका इमान्दार कार्यकर्तालाई अवसर नदिंदा विवादरहित हुन नसकेको र यसले पार्टीलाई कमजोर बनाउने बताए ।
उनले नेतृत्वलाई प्रश्न गर्दै भ्रातृ संगठका प्रमुख नपर्नु, पुस्ता नमिलाउनु, कार्यकर्ताको ठाँउमा नातेदारलाई च्याप्नुले नेतृत्वको आलोचना हुने स्थिति उत्पन्न भएको दाबी गरे ।
एमाओवादीका नेता हेमन्तप्रकास वलीले पूर्व प्रहरी महानिरिक्षक रविन्द्र प्रताप शाहले आफ्नो ठाँउमा समानुपातिकमा स्थान पाएकोमा आक्रोस ब्यक्त गर्दै यस्ता गल्ती तत्काल नसच्याए भावी परिणाम राम्रो नहुने चेतावनी दिए ।
वलीले पार्टीहरुभित्र फैलिएको विकृति अन्य गर्न सबै पार्टीका यूवाहरुले संयूक्त रुपमा अन्तर्राष्ट्रिय प्रतिष्ठान बनाएर अघि बढ्नु पर्नेमा समेत जोड दिए ।
समानुपातिक निर्वाचन प्रणाली असफल सिद्ध नभए पनि यसको परिणाममा केही विकृति देखिएको यसको औचित्यको विषयमा आफूले पनि पार्टीभित्र बहस सुरु गर्ने उनले बताए ।
नेकपा एमालेकी यूवा नेतृ रामकुमारी झाक्रीले पार्टीभित्र नेताहरुको चाकडी गर्नु पर्ने अवस्था आएको भन्दै अब समानुपातिक निर्वाचन प्रणालीको सैद्धान्तिक र ब्यवहारिक पक्षमा बहस गर्नु पर्ने अवस्था आएको बताईन् ।
उनले समानुपातिकबाट कमजोर र राजनितिक आधार नभएका ब्यक्तिहरु नेताहरुसँगको पहुँचको आधारमा आउँदा पार्टीको जनाधार कमजोर र पार्टी निरंकुश हुन थालेको भन्दै यसले मर्यादित संविधानसभालाई नै प्रतिष्ठाहिन बनाएको आरोप लगाईन् ।
समावेशी प्रंतिनिधित्व गराउने भन्दै थारुका नाममा जमिन्दार, महिलाका नाममा अघिपछि पुरुष लगाएर हिड्ने महिला, नेताका श्रीमती र पैसाको बोलकवोल गर्न सक्नेले अवसर पाउँदा ती वर्गको समावेशीकरण हुन नसकेको झाँक्रीको भनाई थियो । उनले राप्रपा नेपाल र एमाले दुवै पार्टीको समानुपातिकको सूचीमा रहेकी ब्यापारी राज्यलक्ष्मी गोल्छालाई आफ्नै पार्टीले कति रकम लिएर ल्यायो भन्ने प्रश्न गरिन् ।
उनले भनिन, “ राज्यसत्तामा पुग्ने बाटो राजनीति मात्र नभई पैसा पनि हुँदो रहेछ भन्ने मान्यता स्थापित भयो ।”
झाँक्रीले आफू यस्तो विकृतिको विरुद्ध पार्टीभित्रै रहेर संघर्ष गर्ने भन्दै गल्ती गर्ने, गुटबन्दी गर्ने र पार्टीलाई कमजोर बनाउनेमाथि कारवाही हुनु पर्ने बताइन् ।
राप्रपाका यूवा नेता भुवन पाठकले समानुपातिक निर्वाचन प्रणालीको औचित्य सकिएकोले अब खारेज गर्नु पर्ने भन्दै अन्यथा प्रजातान्त्रिक पद्धति र राजनीतिक दलको भविष्यमै संकट उत्पन्न हुने चेतावनी दिए ।
उनले पार्टीबाट समानुपातिक तर्फ शिर्ष नेताहरुका गर्लफ्रेण्ड, पैसाको विटा लिएर आउने धनवानहरुले अवसर पाएको भन्दै यसका विरुद्ध अब पार्टीभित्रै रहेर अन्तरसंघर्ष गर्ने घोषणा गरेका थिए ।
