समाचारबिहीबार, पौष १८, २०७०

पद किन्नेहरुसँगै बहस गर्नु लाजमर्दोः गगन थापा

हिमालखबर

१८ पुसमा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपाली कांग्रेसका नेता गगन थापाले समानुपातिक निर्वाचन प्रणालीले दल सञ्चालन र लोकतन्त्रमा ठूलै समस्या ल्याएको भन्दै समानुपातिक प्रणालीको अन्त्य गरिनुपर्ने जिकिर गरेका छन् ।

उनले समानुपातिक निर्वाचन प्रणालीको साटो प्रत्यक्ष निर्वाचन प्रणालीमै समावेशी सहभागिता गराउनेतर्फ सोच्नु जरुरी रहेको भन्दै नयाँ बन्ने संविधानमा समानुपातिक प्रणाली लेखिए त्यो मुलुककै लागि दुर्भाग्यपूर्ण हुने चेतावनी दिए ।

सभासदको पद किनेकाहरु र नेताका आफन्त भएकै कारण सभासद बनेकाहरुसँग बसेर संविधान निर्माणमा बहस गर्नु लाजमर्दो अवस्था हुने उनले गुनासो गरे ।

समानुपातिको सूचि बनाउँदा नेपाली कांग्रेस पार्टीले निर्णय नगरी ‘महाराजगञ्ज दरवार’ र ‘बुढानिलकण्ठ दरवार’ को हुकुम प्रमाङ्गीबाट भएको आरोप लगाए । उनले भने “कांग्रेसभित्र भागबण्डाको नाममा ‘काले काले मिलेर खाँउ भाले’ को शैली देखियो ।”

कांग्रेसभित्र समानुपातिक सभासद चयनमा ४० र ६० प्रतिसतको भागबण्डा पहिला नै भईसकेकोले चयनमा भन्दा पनि गुट भित्रका उपगुटहरुवीच पद बाँडफाँडको विषयलाई लिएर ढिला भएको उनले खुलासा गरे । थापाले भने, “अब समानुपातिक निर्वाचन प्रणाली नै हटाउनु पर्छ ।”

नेताहरुले पार्टी नै चलाउन नजानेकाले त्यसको मूल्य लोकतन्त्रले चुकाउनु परेको दावी गरेका थापाले पार्टीभित्र न्याय गर्न नसक्ने नेताहरुले सहमतिको राग अलाप्न नहुने बताए ।

समानुपातिक चयनमा सबै दलका शीर्ष नेताहरुले मनोमानी गरेको भन्दै आक्रोश पोखेका थापाले संसदीय समितिमा सहमति गर्ने, केन्द्रीय समितिमा मौन बस्ने र बाहिर सञ्चारमाध्यममा आफ्नो असहमति रहेको बताउने नेताहरुको चरित्र प्रति ब्यङग्य गरेका थिए ।

अरु सह्य हुँदैन
आगामि १ वर्षभित्र संविधान निर्माण र स्थानीय निकायको निर्वाचन गराउन नसकिए नेताहरुको दास भएर पार्टीमा बस्नुको कुनै औचित्य नहुने भन्दै थापाले थपे, “सँधै नेताहरुले जे गर्छन त्यसमा ताली पड्काएर बस्नुको औचित्य छैन । त्यसपछि यूवाहरुले नयाँ ढंगले सोच्नु पर्छ ।”

सक्छौ भने पार्टी फोडः किराँती
एमाओवादीका नेता गोपाल किराँतीले पार्टीले निर्वाचन आयोगमा पेश गरेको ५४ जनाको समानुपातिक सुची कुनै पनि हालतमा नसच्चिने भन्दै त्यसैलाई लिएर नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले पार्टी फुटाए आफूले स्वागत गर्ने बताएका छन ।

“सूची बनाउन बोलाइएको बैठक बहिस्कार गर्ने, अहिले सूची सार्वजनिक भईसकेपछि सच्चाऊ भन्ने, त्यस्तो हुँदैन ।” किराँतीले भने, “यसैलाई लिएर पार्टी फुटाए हुन्छ, म फुटाउनेलाई स्वागत गर्छु ।”

किरातीले एमाओवादी अन्तर्षंघर्षमा रहँदा संविधान बनाउन नसकेको भन्दै अन्तरसंघर्षको नाममा पार्टीलाई हैरान पार्ने काम पहिला देखिनै हुँदै आएकोले अब त्यो नसहिने बताए ।

शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यलाई अघि बढाउन दर्जन कमजोरी भए पनि अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व अँझै आवश्यक रहेको किराँतीको तर्क थियो ।

उनले भट्टराई र श्रेष्ठको अहिलेको रडाको योजनाबद्ध भएको दावी गर्दै ५४ जनाको सूची बहाना मात्रै भएको ठोकुवा गरे ।

गच्छदारलाई हटाउने चेतावनी
मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादवले पार्टी अध्यक्ष विजयकुमार गच्छदारले ब्यक्तिगत स्वार्थमा बनाएको समानुपातिकको सूची नसच्चाए उनलाई नै पार्टीबाट हटाउने चेतावनी दिए ।

उनले भने, “हामी अर्को पार्टी खोल्दैनौं, अध्यक्षलाई सूची सच्याउन अल्टिमेटम दिएका छौं, निरकुंश ढंगले अघि बढ्न खोजे उहाँलाई नै नेतृत्वबाट हटाउँछौ ।”

गच्छदारले केन्द्रीय समिति, राजनीतिक समितिलाई बेवास्ता गरेर आफ्ना आसेपासे, नातेदार र पैसावालालाई सभासदमा सिफारिस गरेका कारण मधेश मुद्दा नै कमजोर बनेको दावी गर्दै राजनीतिको र पनि नजान्ने व्यक्ति सभासद बन्दा पार्टीको अस्तित्व नै संकटमा पर्ने यादवको भनाई थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>