समाचारबिहीबार, पौष १८, २०७०
मन्त्रिपरिषद् निर्णयः प्रहरी नियमावलीमा परिमार्जन
१८ पुसमा बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयको प्रस्तावबमोजिम नेपाल प्रहरी नियमावलीलाई आवश्यक परिमार्जन र सिफारिस गरी पठाउन परिषद्को विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।
बैठकपछि सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले विधेयक समितिले तयार गरेको संशोधनको मस्यौदा मन्त्रिपरिषद्को बैठकमा पेस गरिने बताए पनि संशोधनका बुँदा बारे भने खुलाइएनन् ।
मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको बैठकले ‘जनआन्दोलन–२’ मा गम्भीर घाइते भई उपचाररत काभ्रेका मुकेश कायस्थलाई हाल पाइरहेको सुविधामा रु पाँच हजार थप गरी मासिक रु १५ हजार सुविधा दिने निर्णय गरेको छ ।
यसैगरी, बैठकले बिरुवा सम्मेलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिमा नेपाल पक्ष रहेबमोजिम कृषि विकास संगठनअन्तर्गतको बाली विकास संरक्षणालयलाई राष्ट्रिय संरक्षण कार्यालय तोक्ने निर्णय गरेको छ ।
बैठकले ४ माघमा माल्दिभ्समा हुने स्थानीय विकास परिषद्को निर्वाचन पर्यवेक्षणका लागि प्रमुख निर्वाचन आयुक्तको भ्रमणलाई स्वीकृत गरेको छ । भने माघे सङ्क्रान्तिका लागि नेपाल मगर संघलाई रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।
सरकारले राष्ट्रिय दलित आयोगका सदस्य शम्भू हजारा पासवानले दिएको राजीनामा स्वीकृत गरेको छ ।
नेपाल र संयुक्त अधिराज्यबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको सन्दर्भमा लन्डनमा आयोजना हुने कार्यक्रममा परराष्ट्र सचिवले भाग लिने र सो अवसरमा आपसी परामर्श संयन्त्रसम्बन्धी एक सम्झौतामा सचिवले हस्ताक्षर निर्णय गरिएको पनि मन्त्री पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार इक्वेडरमा हुने बायोडाइभर्सिटीसम्बन्धी सम्मेलनमा वन तथा भूसंरक्षण मन्त्रालयका सचिवले भाग लिने, भारतीय दलित साहित्य सम्मेलनमा भाग लिने प्रतिनिधिमण्डललाई आर्थिक सहायता दिने, खानिखोला जलविद्युत् आयोजनालाई आवश्यक वन तथा जग्गा उपलब्ध गराउनेलगायतका निर्णय पनि गरेको बताए ।
