समाचारबिहीबार, पौष १८, २०७०
सभासदको सूची राष्ट्रपतिलाई
आयोगले १८ पुसमा संविधानसभा चुनावमा प्रत्यक्षतर्फ विजयी र समानुपातिकतर्फका सभादसदको नाम राष्ट्रपतिलाई बुझाएको छ । प्रत्यक्षमा निर्वाचित २४० र समानुपातिकका ३३५ सभासदको सूची राष्ट्रपति कार्यालयमा बुझाएको आयोगका प्रवक्ता वीरबहादुर राईले जानकारी दिए ।
संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले कि मन्त्रिपरिषद् अध्यक्षले बोलाउने भन्ने अन्यौल कायमै रहेको अवस्थामा आयोगले सभासदको सूची राष्टपतिलाई बुझाएको हो । अन्तरिम संविधानमा राष्ट्रपतिलाई अन्तिम सूची बुझाएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बोलाउनुपर्ने प्रावधान छ ।
प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीसहित आयुक्तको टोली शितलनिवास पुगेर सूची बुझाएको थियो । सूची बुझाएपछि प्रमुख आयुक्त उप्रेतीले आयोगले आफ्नो जिम्मेवारी पूरा गरेको बताए । ६०१ सदस्यीय संविधानसभामा मन्त्रिपरिषदले २६ जना सदस्य मनोनित गर्नेछ ।
