समाचारशुक्रबार, पौष १९, २०७०
आगामी प्रधानमन्त्री राहुलः मनमोहन सिंह
भारतमा लोकसभा निर्वाचन हुनुभन्दा केही महिना पहिले १९ पुसमा आयोजित पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहले कांग्रेसले आगामी निर्वाचनमा बहुमत प्राप्त गरे पनि आफू प्रधानमन्त्री पदको आकांक्षी नभएको बताएका छन् । त्यो घोषणासँगै उनले विपक्षी दल भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले बोलेको कुरा नगर्ने आरोप लगाउँदै उनी प्रधानमन्त्री भए देशका लागि विनाशकारी हुने बताएका छन् ।
आगामी प्रधानमन्त्रीका प्रमुख दावेदार मोदीमाथि प्रहार गर्दै उनले अहमदाबादका सड़कमा निर्दोष नागरिकहरुको नरसंहारसँग प्रधानमन्त्रीको क्षमता मापन गरिनु गलत हुने बताएका छन् ।
भाजपा नेता एवम् गुजरातका मुख्यमन्त्री नरेन्द्र मोदीमाथि साम्प्रदायिक दंगामा अल्पसंख्यकहरुको सुरक्षा नगरेको आरोप लाग्दै आएको छ ।
आगामी लोकसभा निर्वाचनमा आफूलाई प्रधानमन्त्री पदको दौडबाट अलग राख्दै उनले कांग्रेस उपाध्यक्ष राहुल गान्धीको पक्षमा पैरवी गरेका छन् ।
उनले राहुल गांधीमा प्रधानमंत्री बन्ने अपार क्षमता भएको भन्दै पार्टीले यसबारेमा सही समयमा सही निर्णय गर्ने बताएका छन् ।
सिंहले आफूले प्रधानमन्त्री पद छोड्नु पहिले पाकिस्तान जान चाहेको बताए । उनी पाकिस्तानको पश्चिम पञ्जावमा जन्मेका हुन् ।
