समाचारसोमबार, पौष २२, २०७०
अशोक राईसँग राष्ट्रपतिको परामर्श
राष्ट्रपति यादवले संविधानसभा बैठक बोलाउने विषयमा परामर्श जारी राखेका छन् । शीतल निवासमा २२ पुसमा यादवले संघीय समाजवादीका अध्यक्ष राईसँग परामर्श गरे ।
भेटपछि राईले संविधानसभा बैठक राष्ट्रपतिले बोलाउने कि मन्त्रिपरिषद अध्यक्षले भन्ने विवाद सर्वोच्च अदालतमा विचाराधिन भएकाले आफूले कुनै सुझाव नदिएको बताए । तर, उनले बैठक राष्ट्रपतिबाट नै बोलाउने अन्तर्राष्ट्रिय प्रचलन रहेको पत्रकारसँग प्रतिक्रिया दिए ।
उनले भने, “छिटोभन्दा छिटो विवाद टुङ्ग्याएर संविधानसभा बैठक सुचारु गर्न राष्ट्रपतिले ध्यानाकर्षण गर्नुभएको छ ।”
संविधानसभा बैठक राष्ट्रपतिले बोलाउने कि मन्त्रिपरिषद अध्यक्षले भन्ने विवाद सर्वोच्च अदालतमा विचाराधिन छ । राष्ट्रपतिले २१ पुसमा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतका नेतासँग परामर्श गरेका थिए ।
