थप समाचारमंगलबार, पौष २३, २०७०
द्वन्द्वकालमा लुटिएको सम्पत्तिको क्षतिपूर्ति माग
खोटाङ, खार्पा–३ की यशोदादेवी पोखरेलले सशस्त्र द्वन्द्वकालमा लुटिएको आफ्नो सम्पत्तिबापतको क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । द्वन्द्वकालमा अन्नपात, गरगहना, नगद, भाँडाकुँडालगायतका सम्पत्ति लुटिएको उनले स्थानीय शान्ति समितिसमक्ष क्षतिपूर्तिको माग गरेकी हुन् ।
जेठ २०६२ मा तत्कालिन नेकपा–माओवादीका कार्यकर्ताले घर कब्जामा लिएर १५० मुरी धान, ५० मुरी मकै, २५ मुरी कोदो लुटेको उनको दावी छ । त्यस्तै, एक जोर बाला, चार थान असर्फी, एक थान नोक्सेल, एक थान बेरुवा औँठी, एक थान शीरबन्दी, एक थान मङ्गलसूत्रलगायतका गरगहना पनि लुटिएको उनले बताइन् ।
२०६२ सालमा विराटनगर गएको समयमा माओवादी कार्यकर्ताले पार्टीको झण्डा गाडेर घर नियन्त्रणमा लिएको उनले दिएको निवेदनमा उल्लेख छ । उनले माओवादी कार्यकर्ताले दुई वर्षसम्म घरमा बस्न नदिएको र आफन्तको घरमा बस्नु परेको पनि निवेदनमा उल्लेख गरेको स्थानीय शान्ति समिति खोटाङका संयोजक राम दंगालले जानकारी दिए ।
यसैबीच, द्वन्द्वकालमा बेपत्ता बनेका दुई सर्वसाधारणका आफन्तले पनि क्षतिपूर्तिका लागि दाबी गरेका छन् । १३ कात्तिक २०५९ देखि बेपत्ता खोटाङ, बतासे–९ का दिलकुमार राई र फागुन २०६० देखि बेपत्ता खोटाङ, सल्ले–८ का शम्भुप्रसाद सुवेकीका आफन्तले बेपत्ता बापतको क्षतिपूर्तिका लागि निवेदन दिएको समिति संयोजक दंगालले जानकारी दिए ।
उनीहरूको निवेदनका आधारमा छानबिन गरी क्षतिपूर्तिका लागि शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा सिफारिस गर्ने शान्ति समितिले जनाएको छ ।
रासस
